जनकपुरधाम । नयाँ सरकार गठन भएपछि सुरु भएको मधेशमा राजनीतिक द्वन्द्व अझै बढ्ने संकेत देखिएको छ । यसैक्रममा शनिवार उपसभामुख बबिता कुमारी राउत ईशरले मधेश प्रदेशसभाको बैठक खुला चौरमा सञ्चालन गरेकी छन् । नियमित प्रक्रिया अवरुद्ध भएका कारण खुला चौरमा प्रदेशसभाको बैठक सञ्चालन गरेको उपसभामुख इशरले बताएकी छन् । प्रदेशसभा भवनकै अगाडिको परिसरमा सांसदहरू चौरमा बसे भने उपसभामुख ईशर एउटा कुर्सीमा उनको दुवैतिर नेपालको झण्डा राखेर बैठक चलाइएको थियो ।

नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णा यादवको प्रस्तावमा बैठक बोलाइएको थियो । बैठकमा सभामुख रामचन्द्र मण्डलले सदनको मुख थुन्नका लागि बैठक आह्वान नगरेको र भए भरका कर्मचारीहरूलाई कार्यालयबाट भगाइदिएको हुँदा बाध्य भएर चौरमै बैठक गरेको बताएकी थिइन् । उपसभामुख ईशरले कानुन र संविधान अनुसार सभामुखले पदको गरिमा राख्नुपर्ने हो तर, उनले कानुन मिच्नतर्फ लागेको आरोप लगाइन ।
जसपा नेपालका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री सरोजकुमार यादवले बैठक बसाउनका लागि प्रदेशसभाको बैठक कक्ष नखोलिएको र कर्मचारीहरूले समेत सहयोग नगर्दा विधायकीय कार्य अवरुद्ध हुन नदिन चौरमै बैठक बसेको बताए ।
एमाले बाहेकका ७४ सांसदले प्रदेश सभामा महाभियोग दर्ता गराएका छन् । महाभियोग प्रस्ताव दर्ता गर्नेक्रममा एमालेका सांसदहरूले अवरोध गरेपछि दुवै पक्षबीच झडप समेत भएको थियो ।
बिहीबार राति नै सभामुख रामचन्द्र मण्डलले प्रदेश सभामा लगातार १० पटक अनुपस्थित भएको भन्दै सांसदहरूमा उर्मिलादेवी सिंह सर्लाही, मनिष कुमार सुमन सप्तरी, सन्जयकुमार यादव सर्लाही, सिंहासन कलबार पर्सा, सारदा शंकर कलबार बारालाई पदमुक्त गरिदिएका थिए ।
सभामुखको यस निर्णयपछि उपसभामुख बबिता कुमारी राउत ईश्वरले अर्को सूचना जारी गर्दै सभामुखविरुद्ध पद अनुकूल आचरण नगरेको भनी महाभियोगको प्रस्ताव दर्ता भइसकेको अवस्थामा उनको पद रिक्त भएको जिकिर गरेकी थिइन् । साथै, उपसभामुख राउतले प्रदेशसभाको पछिल्लो बैठकको हाजिरी तथा भिडियो रेकर्डबाट सांसदहरू अनुपस्थित नरहेको देखिएको भन्दै सभामुखले गरेको पदमुक्तको निर्णय बदर हुने ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराएकी थिइन् ।
सर्वदलीय बैठक सात दलीय गठबन्धनद्वारा बहिष्कार
प्रदेश प्रमुखले आह्वान गरेको सर्वदलीय बैठकलाई सात दलीय गठबन्धनले बहिष्कार गरेको छ । आज दिउँसो ३ बजे प्रदेश प्रमुख डा.सुरेन्द्र लाभले सर्वदलीय बैठक बोलाएका थिए । तर, वर्तमान मुख्यमन्त्री सरोजकुमार यादव नेकपा (एमाले) संसदीय दलका नेताको हैसियतमा बैठकमा सहभागी हुने भएकाले अन्य दलहरूले बहिष्कार गरेका हुन् । मुख्यमन्त्री यादव भने बैठकमा पुगेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादवले असंवैधानिक रूपमा नियुक्त भई होटलमा सपथ लिएका मुख्यमन्त्री सो बैठकमा उपस्थित हुने भएकाले सात दलीय गठबन्धनले बहिष्कार गरेको बताए ।











