Logo
Logo

ओली अहंकारले अर्को अनिष्टको खतरा


शरद् रिजाल

4.6k
Shares

जेन–जी आन्दोलनपछि प्रधानमन्त्रीबाट अपदस्त भएर भक्तपुरको गुण्डुमा सीमित भएका एमाले अध्यक्ष केपी शर्मा ओलीको हठ र अहंकारले मुलुकमा थप अनिष्ट निम्त्याउने खतरा बढाएको छ । जेन–जी आन्दोलनको निशानामा परेका ओलीलाई सेनाले उद्धार गरेर जोगाए पनि उनका हालका अभिव्यक्ति भने सहजै बहिर्गमन भएको जसरी उन्मादपूर्ण आइरहेका छन् । उनका कुरा जेन–जी आन्दोलनमा सहभागी र अन्य सामान्य नागरिकको समेत मथिङ्गल हल्लाउने खालका छन् ।

गुन्डुमा सार्वजनिक भएको केही दिनमै बालुवाटारबाट निस्कन पाँच मिनेट ढिलो भएको भए आफू मारिनसक्ने बताउँदै उनले निरीहता प्रकट गरेका थिए । तथापि, त्यसलाई बिर्सेर फेरि जेन–जी आन्दोलनको बलमा गठित चुनावी सरकारलाई मानमर्दन गर्दै हुँकार दिँदै आएका छन् । उनका यस क्रियाकलापले आफूप्रतिको आक्रोश झनै बढ्ने सामान्य हेक्कासमेत नराखेर ओली पुनः अर्को संकट निम्त्याउन उद्यत हुँदै उन्मादपूर्ण अभिव्यक्ति जारी राखेका छन् ।

यसअघि वर्तमान चुनावी सरकार लक्षित अनेकौँ आक्षेप लगाइरहेका ओलीले फेरि ‘यो सरकार कसको हो ?’ भन्दै संसद पुनःस्थापनाले मात्रै संकट हल गर्ने बताएका छन् । उनको आगामी निर्वाचन लक्षित असहिष्णु अभिव्यक्तिले सङ्लिएको राजनीति पुनः धमिलिँदै छ । आइतबार ओली भेट्न गुन्डु पुगेको प्रेस चौतारीको टोलीलाई उनले संसद पुनः स्थापना गरेरै छाड्ने बताउँदै त्यसबाहेक अरू उपाय नरहेको बताएका थिए ।

उनको यस अभिव्यक्तिले मुलुकको वर्तमान संकट र अनिश्चयको अन्त्य होइन, उनमा थप भुमरीमा पु¥याउने मनोदशा व्याप्त रहेको देखिन्छ । मुलुक जटिल सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको बेला त्यसको निकासका लागि चुनावी वातावरण बनाउनुको साटो झनै परिस्थिति भड्काउनतर्फ ओली लागेको यसबाटै प्रस्ट हुन्छ ।

अहिले एमालेमा ‘ओलीभक्त’ महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली लगायत अन्य केही नेतासमेत ओलीको चुनाव विरोधी अभिव्यक्तिको पक्षमा वकालत गर्दै हिँडेका छन् । आलोचनात्मक चेतभन्दा पनि ‘दास’ मनोवृत्तिबाट ग्रस्त यी नेताद्वयले ‘नहुने चुनावको पछि एमाले नलाग्ने’ भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिँदै ओलीकै अराजक अभिव्यक्तिलाई प्रश्रय दिइरहेका छन् । ओलीबेगर आफ्नो राजनीतिक भविष्य नदेखेका अन्य केही ‘अन्धभक्त’ एमाले नेताले समेत ओलीलाई प्रधानमन्त्रीबाट विस्थापन गरेको जेन–जी विद्रोह विदेशी षड्यन्त्र भएको संज्ञा दिँदै ओलीलाई राष्ट्रवादको सुनपानीले छर्किन प्रयत्नशील छन् ।

ओलीकै कुशासन र शासकीय उन्मादले जेन–जी विद्रोह निम्तिएकोमा आम जनता जानकार छन् । त्यसमा अन्य सत्तासीन दल पनि उत्तिकै जिम्मेवार रहेपनि तत्कालीन असहज परिस्थिति निर्माणमा ओलीकै निरंकुश र स्वेच्छाचारी शैलीकै मुख्य भूमिका रहेकोमा कुनै सन्देह छैन । त्यसकै उपज अहिले मुलुकमा संवैधानिक संकट र राजनीतिक अन्योलताको अवस्था सिर्जना भएको छ । यसको निकासका लागि निर्वाचनमा जानुको विकल्प छैन । यस विपरीत ओली र उनका कोटरीका नेताले जेन–जी विद्रोहलाई नजरअन्दाज गर्दै संक्रमणकाल थप गिजोल्ने खालका अभिव्यक्ति दिनु मुलुक र जनताका लागि घातक छ ।

संविधानको रक्षा गर्दै वर्तमान संकटको निकास दिने एकमात्रै विकल्प निर्वाचन हो । त्यसको वातावरण बनाउनु हरेक राजनीतिक दलको दायित्व हो । तर त्यस विपरीत आफैँबाट सिर्जित वर्तमान असहज परिस्थितिलाई झनै अन्योल र अनिश्चिततातर्फ धकेल्ने क्षतिप्रद अभिव्यक्ति मुलुक र जनता विरोधी अर्को प्रलयकारी अवस्था निम्त्याउने प्रपञ्च हो ।

जेन–जी विद्रोहको बलमा विघटित प्रतिनिधिसभा पुनःस्थापनको मुद्दा उठाएर त्यसका माग र मर्मको उपहास गर्दै आफूलक्षित जनआक्रोशलाई ओली र उनी पक्षधर नेताहरूले फगत विदेशी षड्यन्त्रको संज्ञा दिनु आफू जोगिने कुचेष्टा मात्रै हो । ओली र उनी पक्षीय नेताका यस्ता अस्वाभाविक क्रियाकलाप एमाले र मुलुककै लागि प्रत्यूत्पादक हुने देखिन्छ । यसले फेरि अर्को विद्रोह निम्त्याएर मुलकलाई अन्त्यहीन अस्थिरता र रक्तपातपूर्ण अवस्थामा नपु¥याउला भन्न सकिन्न ।

समयमै ओलीको बोलीमा लगाम लगाउन नसके देश अर्को संकट व्यहोर्न अभिशप्त हुने संशय बढेको छ । निर्वाचनको वातावरण बनाएर ताजा जनादेशमार्फत नयाँ सरकार गठन गरी मुलुकलाई संवैधानिक मार्गमा हिँडाउनुपर्ने आवश्यकतालाई अनदेखा गर्दै अहिलेको विषम परिस्थितिमा विश्वासको वातावरण खलबल्याउने खालका अभिव्यक्ति अराजकताको पराकाष्ठा हो । अहिलेको संवैधानिक रिक्तता र राजनीतिक जटिलताको उपयुक्त निकास निर्वाचन नै हो । त्यसबाहेक मुलुक र संविधानलाई सही मार्गमा ल्याउने अरू कुनै उपाय छैन ।

यस विपरीत ओली र उनका ‘भक्त’हरू भने निर्वाचन सम्पन्न गराएर मुलुकमा स्थायित्व कायम गर्ने अभिप्राय भन्दा पनि ओलीलाई निर्दोष साबित गराउने र गुमेको साख फर्काउने दिवास्वप्नमा छन् । यतिबेला अमुक दल र त्यसको अध्यक्षभन्दा देश जोगाउने पहिलो र मुख्य दायित्व हो । त्यसबाट विमुख भएर एक व्यक्ति जोगाउन सिंगै देशलाई अर्को अनिश्चयतर्फ धकेल्ने कुचेष्टा किमार्थ स्वीकार्य छैन । मुलुकको राजनीतिक अवस्था सामान्यकृत भइरहँदा फेरि थप अस्थिरतातर्फ लैजाने क्रियाकलापले कसैको हित गर्दैन । बरु त्यसले मुलुकमा थप प्रलयकारी अवस्था निम्त्याउने खतरा बढाउँछ ।

बहालवाला प्रधानमन्त्री हेलिकप्टरबाट भागेर ज्यान जोगाउनुपरेको नेपालको राजनीतिक इतिहासमै पहिलो परिघटना हो । यसबाट पाठ सिकेर आत्माआलोचना गर्दै सच्चिनुको साटो उल्टै विदेशी षड्यन्त्र भन्दै अमुक तर्क गरेर आफ्नो बचाउमा उत्रने कार्यले जनमानसमा आक्रोश बढाएको छ । ओलीको हठ र निरकुंश शैलीले उत्पन्न जेन–जी विद्रोहबाट मुलुकले सर्वस्व गुमाउँदा पनि त्यसलाई पूर्णतया नजरअन्दाज गर्दै दम्भ र अहंकार प्रदर्शनलाई निरन्तरता दिनु भनेको थप अनिष्ट निम्त्याउने कुत्सित मनसाय हो ।

प्रधानमन्त्री कार्यकारी प्रमुख भएको शासन व्यवस्थामा राज्यका सम्पूर्ण संरचना परिचालन गर्ने अधिकार प्रधानमन्त्रीकै हुन्छ । तर ओली भने सेनाले सिंहदरबार नजोगाएको र आफूलाई असहयोग गरेको बताउँदै सहानुभूति बटुल्न लागिपरेका छन् । कार्यकारी प्रधानमन्त्रीलाई मुलुककै सुरक्षा निकायले सहयोग नगर्ने अवस्था किन बन्यो ? के ओली र उनको सत्ता जोगाउन सुरक्षा निकायले अझै हजारौँलाई मार्नुपर्ने थियो ? यसप्रति आत्मसमीक्षा नगरी ओली भने आफ्नै उपहास हुनेगरी गैरजिम्मेवार अभिव्यक्ति दिइरहेका छन् ।

सुरक्षा निकायले समेत उनको राजीनामा नै असहज परिस्थिति साम्य पार्ने अन्तिम विकल्प ठान्नुले ओलीप्रतिको आक्रोशले सीमा नाघेको देखाउँछ । उनी पदमुक्त भएपछि मात्रै परिस्थिति साम्य हुने आकलन सुरक्षा निकायले गरेर नै राजीनामा दिन सुझाएको तत्कालीन घटनाक्रमबाटै प्रस्ट हुन्छ । तर ओलीले भने यस्तो कटु यथार्थसमेत अझै नबुझे जसरी फगत विदेशी षड्यन्त्र भन्दै राष्ट्रवादको डंका पिटेर आत्ममुग्धतामा रमाएका छन् । यसले मुलुकलाई अनिर्णीत बनाउँदै थप राजनीतिक संकट निम्त्याउने खतरा बढाएको छ । त्यसबाट जोगिन बेलैमा ओलीको अनियन्त्रित बोलीमा लगाम लगाउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्