
जेनजी सचेत युवाहरूको असङ्गठित समूह हो, जसले हरेक क्षण परिवर्तनको चाहना राखेका हुन्छन् । यही चाहना र उद्देश्यले राजनीतिक पार्टीका नेताहरूको जन्म भएको थियो । तिनै नेताहरूको हातमा लामो समयदेखि देशको शासन सत्ता हुँदा पनि समयअनुसार उनीहरू चल्न नसक्दा आजको परिस्थिति निर्माण भएको हो ।
करिब ३५ वर्षदेखि लोकतन्त्रको आवरणमा आलोपालो सत्तामा रहेका पुराना राजनीतिक पार्टी र नेताहरूले आफ्नो सिद्धान्त र विचार त्याग्दै विकृति र विसङ्गतिमा रमाउन थालेपछि नयाँ पुस्ताले विद्रोह गर्नुपरेको हो । विद्रोह रहर होइन बाध्यता हो भन्ने कुरा नेपाली जनताले परिवर्तनका लागि धेरैपटक विद्रोह गरेबाट प्रस्ट हुन्छ । संघीय लोकतान्त्रिक गणतन्त्र पनि विद्रोहकै उपलब्धि हो भन्ने कुरालाई बिर्सन हुँदैन ।
यो जेनजी विद्रोह पुराना पुस्ताका नेताको भ्रष्ट आचरणविरुद्धको उद्घोष हो । यो कुरालाई मनन गर्दै पुराना पुस्ताका नेताहरूले सत्ता हस्तान्तरण गर्दै गए भने राजनीतिक नेतृत्व सङ्लो हुँदै जान्छ ।
योग्यता र क्षममताका आधारमा नयाँ नेतृत्वले मुलुक हाँक्ने अवसर पाउँछ । हरेक पार्टीमा पुस्तान्तरणको बहस चलेको धेरै वर्ष बित्यो । तर बूढा ‘अक्षम’ नेताहरूले ‘मेरो गोरुको बाह्रै टक्का’ भनेझैँ आर्यघाट नपुग्दासम्म सत्ता नछाड्ने मानसिकता बनाएपछि हरेक पार्टीभित्र विद्रोहको वातावरण बनेको छ ।
खासगरी एमालेभित्र नेतृत्व परिवर्तनको बहसले तीव्र रूप लिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली स्वयंले दुई कार्यकालभन्दा बढी पार्टी अध्यक्ष हुन नपाउने र ७० वर्षपछि कार्यकारी पदमा बस्न नपाउने नीति ल्याएका थिए । यो नीतिविपरीत आफैँ तेस्रोपटक पार्टी अध्यक्ष हुन उनी अग्रसर भएपछि उनीमाथि नैतिकताको प्रश्न खडा भएको छ ।
राजनीतिमा नैतिकता भन्ने शब्दले ठूलो अर्थ राख्छ । नैतिकविहीन व्यक्तिलाई पार्टी अध्यक्षजस्तो जिम्मेवारी दिइनु हुँदैन । त्यसमाथि कम्युनिष्ट पार्टी फलामे अनुशासनमा विश्वास गर्ने पार्टी भएकोले पुनः अध्यक्ष पदको दाबी गर्न ओलीलाई नैतिकताले दिँदैन भन्ने कुरा एमालेजनले बुझ्नु पर्छ ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली प्रवृत्तिविरुद्धको आन्दोलन थियो । जुन आन्दोलनमा १९ जना निर्दोष विद्यार्थीले ज्यान गुमाए । सयौँको सङ्ख्यामा घाइते भए । नेपालको इतिहासमा एकै दिन एकै क्षण यति ठूलो सङ्ख्यामा निहत्था विद्यार्थीहरूको हत्या भएको पहिलो घटना हो । त्यसको नैतिक जिम्मेवारी पनि स्वयं ओलीले लिनुपर्छ ।
तर, ओली यो परिवर्तन स्विकार्न तयार छैनन् । जेनजी आन्दोलनलाई विदेशी शक्तिको लेप लगाउँदै पुनः सत्तामा फर्कने दाउ हेरिरहेका छन् । उनलाई भदौ २३ को आन्दोलन सपना जस्तो लागेको छ । विद्यार्थीको विद्रोहबाट सत्ताच्युत भएका शासकहरू पुनः सत्तामा फर्किएको इतिहास छैन । त्यसैले ओलीको राजनीतिक जीवनमा भदौ २३ पूर्णविराम हो । त्यसलाई सहज रूपमा स्विकार्नु उनको महानता हो ।
राजनीतिमा आफ्नो गल्ती स्वीकार्ने हिम्मत नगर्ने शासकहरू नागरिकहरूबाट यसैगरी लखेटिएका छन् । ओली नेपालको राजनीतिमा असफल पात्र हुन् । यो कुरा उनले ढिलोचाँडो स्विकार्नु पर्छ । नभए कुनै दिन उनलाई फेरि इतिहासले पाठ सिकाउने छ ।
एमाले कम्युनिष्ट आन्दोलनको संवाहक हो । यो पार्टी एकै दिन, एकै रातमा एउटा नेताले बनाएको पार्टी होइन । यो पार्टी बनाउन धेरै सहिदहरूले जीवन अर्पण गरेका छन् । जेलनेल भोगेका छन् । धेरै युवाहरूको आशा र भरोसा यस पार्टीमा जोडिएको छ । तिनका सपनाहरूलाई साकार पार्न पनि एमालेमा नयाँ नेतृत्व आउनु जरुरी छ ।
जेनजी आन्दोलन चेतना हो । यो चेतना पछाडि फर्कन सक्दैन । ओली पुस्ताका असफल नेताहरू अब राजनीतिबाट बिदा हुनुपर्छ । जेनजी आन्दोलनको सन्देश पनि यही नै हो । होइन, जबरजस्ती अगाडि बढ्छु भनेर अहंकार पाल्ने हो भने त्यो अहंकारले आफैँलाई सिध्याउँछ । कतै, ओलीको राजनीति पनि निभ्न लागेको बत्तीजस्तै धपक्क बल्न खोजेको त होइन ?











