
काठमाडौं । मधेश प्रदेश सभाको बैठक सरेको छ । मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने प्रयोजनका लागि आज बिहान साढे ८ बजे बोलाइएको बैठक २ घन्टा ढिला गरि सुरु भएको थियो ।
तर, मुख्यमन्त्रीले आफुले विश्वासको मत दिउँसो २ बजे मात्र लिने अडान राखेपछि उपसभामुख बबिता कुमारी राउत ईशरले दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरेकी हुन् । करिब साढे १० बजेसम्म बैठकमा मुख्यमन्त्री उपस्थित भएका थिएनन् । साथै एमाले सांसदहरू समेत उपस्थित भएनन् ।
मुख्यमन्त्री यादवले दिउँसो २ बजे विश्वासको मत लिने वातावरण बनाइदिन प्रदेश सभा सचिवालयलाई पत्र पठाएका थिए । तर हिजो साँझ बसेको सर्वदलीय बैठक र कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरूले आज बिहान ८ः३० बजे प्रदेश सभा बैठक राख्ने सहमति गरेका थिए ।
सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । सर्वोच्चको आदेश अनुसार मुख्यमन्त्री यादवले आज प्रदेशसभामा विश्वासको मत लिने बताएका थिए ।











