
काठमाडौं । मधेश प्रदेशमा राजनीतिक दलहरुले आज मुख्यमन्त्रीका लागि दाबी पेस गर्दैछन् । प्रदेश प्रमुख सुरेन्द्र लाभले आज साँझ ५ बजेसम्म सरकारमा दाबी पेश गर्ने समय सीमा तोकिएपछि दलहरुले मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका हुन् ।
नयाँ मुख्यमन्त्रीको लागि ७ दलले दाबी पेश गर्ने तयारी गरेका छन् । हिजो एमालेबाहेकका ७ दलीय गठबन्धनको लामो छलफल लगभग सहमतिमा पुगेको नेताहरूले बताएका छन् ।
नेपाली कांग्रेस, माओवादी, जसपा नेपाल, जनमत, लोसपा, नेकपा एस र नाउपाले संयुक्त गठबन्धन बनाएर मुख्यमन्त्री दाबी गर्न लागेका हुन् ।
गठबन्धनमा लोसपाका जितेन्द्र सोनल र कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्य दाबेदार छन् । आज मुख्यमन्त्रीको टुङ्गो लगाएर दाबी पेस गरिने नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत शाहले जानकारी दिए ।
एमालेका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएसँगै एक सभामुख पनि खाली छ । जसपा सभामुख लिने दाउमा छ । १०७ जना सांसद रहेको मधेशमा सरकार बनाउन बहुमतका लागि ५४ जना चाहिन्छ । गठबन्धनसँग ७३ जना सांसद छन् ।











