काठमाडौं । पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेड, तिलोत्तमा-५, कोटिहवा, रूपन्देहीले आर्थिक वर्ष २०८४/०८५ का लागि ३२ करोड ७८ लाख ३५ हजार ५ सय ५६ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

संस्थाको २७औँ वार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदनमा आर्थिक वर्ष २०८२/०८३ को अनुमानित बजेट, वास्तविक कारोबार तथा आगामी आर्थिक वर्षको लक्ष्य समेटिएको छ ।
प्रतिवेदनमा आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ३२ करोड २७ लाख ८७ हजार ९ सय ६१ रुपैयाँ ६६ पैसाको बजेट अनुमान गरिएको थियो । सो आर्थिक वर्षको वास्तविक कारोबारतर्फ कुल रकम २८ करोड ६६ लाख २७ हजार ९ सय ३१ रुपैयाँ ६८ पैसा उल्लेख छ ।
आर्थिक वर्ष २०८४/०८५ का लागि सहकारीले बचत सङ्कलनतर्फ २६ करोड ५० लाख रुपैयाँ र ऋण लगानीतर्फ २५ करोड ६५ लाख ७५ हजार रुपैयाँको लक्ष्य राखेको छ । त्यस्तै, सेयर पुँजी २ करोड ३ लाख रुपैयाँ र कर्जा जोखिम कोष एक करोड रुपैयाँ पुर्याउने लक्ष्य बजेटमा समावेश गरिएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष अर्जुन बस्यालले संस्थाले सेयर सदस्यको हितमा काम गर्दै आएको बताउँदै सामाजिक उत्तरदायित्वको कामहरूलाई निरन्तरता दिँदै आएको बताए ।
कार्यक्रमका संयोजक पूर्णभद्र बस्यालले संस्थाले हरेक गतिविधिहरूलाई पारदर्शी रूपमा कार्यसमितिको निर्णयअनुसारका कामलाई प्राथमिकता दिँदै आएको बताए ।बचत तथा ऋण कारोबारलाई मुख्य कार्यक्षेत्र बनाएको सहकारीले आगामी आर्थिक वर्षमा बचत संकलन र ऋण लगानीलाई प्राथमिकता दिएको छ। अघिल्लो आर्थिक वर्षको अनुमानित तथा वास्तविक वित्तीय विवरण सार्वजनिक गर्दै संस्थाले आगामी वर्षका लागि कारोबार विस्तारको लक्ष्यसमेत अघि सारेको छ ।
कार्यक्रममा कोषाध्यक्ष लालमणि भूसालले लेखा प्रतिवेदन, सचिव तारा नेपालले सचिवको प्रतिवेदन र अध्यक्ष अर्जुन बस्यालले अध्यक्ष प्रतिवेदन पेस गरेका थिए ।













