Logo
Logo

पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँ : उपसभापति भुसाल


0
Shares

काठमाडौं । नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको १५ औँ महाधिवेशनले सङ्गठनलाई नयाँ ऊर्जा प्रदान गरेको बताउँदै अबका दिनमा काँग्रेस आन्तरिक विवाद र गुटबन्दीबाट मुक्त भएर जनसरोकारका विषयमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेकी छन् । 

The current image has no alternative text. The file name is: bhusal.jpg

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी मतगणनाका क्रममा उनले पार्टीलाई चुनावी मोडमा लैजान र जनताको विश्वास जित्न सङ्गठनलाई थप सुदृढ बनाउनु अपरिहार्य रहेको बताएकी हुन् । उपसभापति भुसालले काँग्रेसको गौरवपूर्ण इतिहास र लोकतान्त्रिक मूल्य–मान्यतालाई जोगाउँदै मुलुकका आर्थिक, सामाजिक र राष्ट्रिय मुद्दाहरूमा पार्टीले सशक्त भूमिका खेल्ने स्पष्ट पारिन् । विगतको निर्वाचनमा पार्टीले सोचेजस्तो परिणाम ल्याउन नसक्नुमा सङ्गठन परिचालनको अभाव, समयको कमी र आन्तरिक गुटबन्दी मुख्य कारण रहेको स्वीकार गर्दै उनले अब त्यस्तो कमजोरी दोहोरिन नदिने बताइन् । पार्टीका वरिष्ठ र बौद्धिक नेताहरूको व्यवस्थापनका सम्बन्धमा सोधिएको प्रश्नमा उपसभापति भुसालले सबै नेताहरूको भूमिका र योगदानको उच्च सम्मान गरिने बताइन् ।

भुसालले भनिनन्, ‘नेपाली काँग्रेसले नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाएको छ । अब सङ्गठनलाई एकताबद्ध, बलियो र ऊर्जावान बनाउँदै जनसरोकारका मुद्दामा केन्द्रित हुनुपर्छ । सुशासन, लोकतान्त्रिक मूल्य–मान्यता र जनताका समस्यामा पार्टीले आफ्नो दृष्टिकोण भाषणमा मात्र होइन, कामबाट देखाउन आवश्यक छ ।  मलाई पूर्ण विश्वास छ । विशेष महाधिवेशनका बेला समय अभाव, सङ्गठनात्मक कमजोरी र पार्टीभित्रको गुट–उपगुटका कारण अपेक्षाअनुसार परिणाम आउन सकेन । अब ती कमजोरी सुधार्दै सङ्गठनलाई केन्द्रदेखि गाउँसम्म सक्रिय बनाउनुपर्छ । आगामी निर्वाचनमा उम्मेदवार मात्र होइन, सिंगो सङ्गठन चुनावमा होमिएको अनुभूति जनतालाई गराउनुपर्छ । विशेष महाधिवेशनपछि देखिएको कानुनी विवाद अब समाप्त भएको छ । असहमति राख्ने र महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई समेत समेटेर अघि बढ्नुपर्छ । अब जनजीविका, आर्थिक विकास, राष्ट्रिय राजनीति, विदेश नीति र संविधानवादजस्ता विषयलाई प्राथमिकता दिँदै काम गर्ने पर्याप्त समय छ । उहाँहरूको अनुभव, क्षमता र योगदान पार्टीका लागि महत्त्वपूर्ण छन् । पदाधिकारी र केन्द्रीय सदस्यहरूको आ–आफ्नो भूमिका हुनेछ । अहिले जिम्मेवारीमा पुग्न नसक्नुभएका नेताहरूलाई पनि सम्मानजनक अवसर दिँदै पार्टी सङ्गठन बलियो बनाउन सँगै लिएर अघि बढ्नेछौँ ।’

भुसालकाअनुसार अबको काँग्रेसको ध्यान आगामी निर्वाचनमा जनप्रिय नेतृत्व छनोट गर्ने, संविधानवादको रक्षा गर्ने र राष्ट्रिय आर्थिक मुद्दाहरूमा स्पष्ट नीति तय गर्दै जनताको केन्द्रबिन्दुमा रहने कुरामा केन्द्रित हुनेछ । कानुनी र राजनीतिक विवादहरू समाधान भइसकेकाले अब पार्टी पूर्ण रूपमा एकताबद्ध भएर अगाडि बढ्ने उनको दाबी रहेको छ । 

प्रतिक्रिया दिनुहोस्