काठमाडौं । माछापुच्छ्रे बैङ्क लिमिटेडले वित्तीय क्रियाकलापबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन तथा मूल्यांकन र यसको न्यूनीकरणको क्षेत्रमा काम गरिरहेको पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीक्याफ) सँग सहकार्य गरेको छ ।

पार्टनरशिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीक्याफ) विश्वव्यापी साझेदारीको रूपमा विश्वका विभिन्न देशमा रहेका ६०० भन्दा बढी वित्तीय संस्थाहरूसँग ऋण र लगानीसँग सम्बन्धित हरितगृह ग्यास (जीएचजी) उत्सर्जनको मूल्याङ्कन र सोको विवरण प्रकाशन गर्न एक सामञ्जस्यपूर्ण दृष्टिकोण विकास र कार्यान्वयन गर्न मुख्य भूमिका खेलिरहेको छ।
पार्टनरशिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीक्याफ) ले विश्वव्यापी मान्यताप्राप्त मापदण्डमार्फत बैङ्क तथा वित्तीय संस्थाहरुलाई आफ्ना वित्तीय क्रियाकलापबाट हुने उत्सर्जन हरितगृह ग्यासको पहिचान गरी भरपर्दो जलवायु रणनीति अपनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।
विश्वमा बढ्दै गइरहेको हरितगृह ग्यास र यसबाट भविष्यमा उत्पन्न हुनसक्ने जटिल समस्याका बारेमा सचेत रहेको माछापुच्छ्रे बैङ्क लि.ले पनि पीक्याफमा सहभागी भएर आफ्नो व्यावसायिक कार्यप्रणाली तथा दीर्घकालीन रणनीतिमा वातावरणीय उत्तरदायित्वलाई अझ मजबुत बनाउने प्रतिबद्धता गर्दछ।
यो कदमले बैंकको जलवायु एजेन्डालाई थप सुदृढ बनाउँदै, वित्तीय क्रियाकलापबाट पर्ने वातावरणीय प्रभाव बुझ्न, जलवायु जोखिम व्यवस्थापन क्षमता बढाउनतथा नेपालले लिएको कम-कार्बन उत्सर्जन को नीति तथा जलवायु-लचकदार अर्थतन्त्रतर्फको यात्रालाई सहयोग पुर्याउने विश्वास बैङ्कले लिएको छ।











