Logo
Logo

खरानीबाट फेरि ठडिँदै भाटभटेनी


0
Shares

काठमाडौं । व्यवसायमा संकट पर्यो भने धेरैजसोले बाटो बदल्छन्, गति सुस्त पार्छन्, निराशा बाँड्छन् वा केही समय थामिन खोज्छन् । तर भदौ २४ गते जेनजी आन्दोलनका नाममा भाटभटेनी सुपर मार्केटका १२ संरचना जलेर खरानी भए । तर व्यवसायी मीनबहादुर गुरुङले हिम्मत हारेनन्, खरानीबाट उठेर अगाडि बढ्ने प्रयत्न गरे ।

जेनजी आन्दोलनको नाममा विध्वंसकारीहरूले लगाएको आगोले ललितानिवास बालुवाटार नजिकैको वेयर हाउसदेखि स्टोर भत्काउँदा बेचैन भएका मीनबहादुर गुरुङले पुनःउत्थानको अठोट गरे । “नेपालकै लागि काम गरेको हुँ, अब पनि देशकै लागि नै गर्ने हो,” उनले यतिबेला बारम्बार दोहो¥याइरहेका वाक्य हुन् ।

भदौ २४ को घटनाले भाटभटेनीलाई इतिहासकै ठूलो क्षति दियो । १२ स्टोर जलेर खरानी भयो, लुटपाट मच्चियो, नौ स्थानमा तोडफोड भयो । तर न त मीनबहादुरको हौसला कमजोर भयो न त भविष्यप्रतिको भरोसा । उनले लुटपाट भएको हरेक स्टोरलाई प्राथमिकताका आधारमा पुनःसञ्चालनमा ल्याउन थालेका छन् । त्यो पुनर्निर्माणको यात्रामा बालुवाटारस्थित दोस्रो जीवन पाएको वेयर हाउस भने सबैभन्दा ठूलो उदाहरण बन्यो, आगोले ढलेको संरचना करिब दुई महिनामै फेरि उभिन सक्ने सम्भावना मीनबहादुरले प्रमाणित गरिदिए ।

खरानीबाट उठेको वेयर हाउस

भाटभटेनीको बालुवाटारस्थित केन्द्रीय वेयर हाउस आगजनीपछि एक किसिमको ध्वंशावशेष झैँ थियो । त्यहाँका स्टीलदेखि कंक्रिट सबै पग्लिएको, भित्रका सामग्री जमिनमै थिचिएको, दर्दनाक दृष्यले आँखा बिझाउँथ्यो । तर मीनबहादुरले श्रमिकलाई रातदिन खटाए । मिनबहादुर भन्छन्, दशैं–तिहार जस्ता ठूला पर्व नभएको भए एकै महिनामा उठ्ने योजना थियो । तर केही ढिलाइ भएपनि फेरि उठेका छौँ ।

श्रमिकको निरन्तरको मेहनतले वेयर हाउस दुई महिनामै आधुनिक स्वरूप लिएर उभिएको छ ।
अब यो वेयर हाउस पहिलेको जस्तै मात्रै होइन-अझ अत्याधुनिक, सफा र बलियो संरचनासहित निर्माण गरिएको छ । नयाँ टायल, नयाँ लुक्स र आधुनिक सिस्टमसहित निर्माण भएको यो युनिट १२ ध्वस्त संरचनामध्ये सबैभन्दा पहिले पुनःसञ्चालनमा आउन लागेको हो । मीनबहादुरले निर्माणमा खटिएका श्रमिकलाई वास्तुपूजामा टीका–दक्षिणासहित सम्मान गरे, उनीहरूसँग सेल्फी लिए र अरू जलेका स्टोर उठाउन पनि त्यही टीमलाई खटाएका छन् ।

नेपालमा ठूलो संरचना यति छोटो अवधिमा निर्माण भएको दृश्य कमै देखिन्छ । त्यसैले भाटभटेनीको पुनर्निर्माण हेर्न जाने जो–कोही आश्चर्यमा पर्नु स्वाभाविक थियो । १० रोपनी जमीनमा बनेको यो केन्द्रीय गोदामबाट सम्पूर्ण भाटभटेनीका आउटलेटमा आयातित सामग्री पठाइन्छ, यही सर्भर र सयौँ कम्प्युटर प्रणालीबाट मुलुकभरका कारोबार सञ्चालन हुन्छन् ।
भदौ २४ को घटनापछिको ठूलो क्षतिले निजी क्षेत्र नै स्तब्ध बनाएको थियो । आन्दोलनको नाममा भएको हिंसाको सबैले निन्दा गरे । तर अहिले भाटभटेनीले ‘खरानीले जित्दैन, हिम्मतले जित्छ’ भन्ने सन्देश दिइरहेका छन् ।

स्टोर पुनःसञ्चालनको तालिका, आक्रामक ‘कमब्याक’

भाटभटेनीका प्रमुख अपरेटिङ अफिसर पानु पौडेलका अनुसार महाराजगञ्ज र कोटेश्वर स्टोर फागुनभित्रै पहिलेकै अवस्थामा फर्काइनेछ । १५ दिन अन्तरालमा अन्य स्टोर क्रमशः सञ्चालनमा ल्याउने तयारी छ । नक्साल स्टोरमा पुनर्निर्माण आवश्यक भएकाले केही समय लागे पनि जोखिमरहित संरचनामा तत्काल काम सुरु भइसकेको छ ।

जलेपछि पनि एक जना कर्मचारी नहटाउने र दसैँको पेस्की दिने घोषणा गरेर मीनबहादुरले कर्मचारीमैत्री नेतृत्व देखाएका छन् । सञ्चालनमा रहेका स्टोरमा कर्मचारीलाई खटाइँदै, जलेका संरचनामा अतिरिक्त १ हजार कामदार थपिएपछि पुनर्निर्माणको गति झनै बढेको छ ।

नेपालमा आवश्यक सामग्री सहजै नपाइँदा समय अलि बढेको भए पनि पुनर्निर्माणको गति असाधारण थियो । बालुवाटार वेयर हाउस पुनःउठेर ‘मोर्डन भर्शन’मा प्रवेश गरेपछि मीनबहादुरले दिएको सन्देश स्पष्ट छ—कसैको दुश्मनीले, कुनै सङ्कटले भाटभटेनीलाई रोक्दैन । विभिन्न चोटहरू सहेर पनि मिनबहादुरले भाटभटेनी उठाइरहेका छन्, उठाइरहने छन् ।

वास्तुपूजाको दिन बालुवाटारमा विशेष माहौल थियो । हाकु पटासीमा सजिएका युवतीहरूको स्वागत, मुख्यद्वारमा राखिएको भाटभटेनी–सिंहदरबारको आगलागीको तस्बिर, ‘भदौ २४ दोहोरिनु नपरोस्’ भन्ने अपील—सबैले घटनाको पीडा र पुनर्निर्माणको दृढता दुवै सम्झाइरहेथ्यो ।

जेनजी आन्दोलनका नाममा भदौ २४ गते भाटभटेनीका १२ वटा संरचना ध्वस्त भएपछि सञ्चालक मीनबहादुरले एकजना कर्मचारीलाई पनि नहटाउने र दसैँको पेस्की समेत दिने घोषणा गरेका थिए । सोही अनुसार उनले आफ्ना कर्मचारीलाई सञ्चालनमा रहेका अन्य आउटलेटमा खटाए । जसले निजी क्षेत्रलाई राम्रो र सकारात्मक सन्देश दिएको छ ।

व्यवसायी मीनबहादुरको यो उदाहरणीय कदम जर्जर परेको अर्थतन्त्रलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ । निजी क्षेत्रले समेत पाठ सिक्नुपर्ने यस उदाहरणलाई राज्यले समेत साथ दिनुपर्ने निजी क्षेत्रका प्रतिनिधिहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्