
के थियो एमाले के भयो अहिले । नेतृत्व असक्षम र अहंकारी भएमा कुनैपनि राजनीतिक दल पतनको बाटोमा जान्छ भन्ने उदाहरण बनेको छ एमाले । तर, एमालेलाई पतनबाट जोगाउन एमालेभित्र लामो संघर्षबाट खारिएको टिम नै उत्रिएको छ मैदानमा । त्यो टिमले ओलीको भष्मासुर शैली बुझेको मात्र छैन, त्यसबाट एमालेलाई मुक्त गर्न संगठित भई सक्रियता देखाएको छ ।
अहिले ईश्वर पोखरेलले त्यस्तो टिमको नेतृत्व लिएका छन्, जो एमालेको भविष्य जोगाउने कठिन अग्निपरीक्षामा छन् । मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको रक्षा गर्ने देखि मनमोहन अधिकारीको सादगीपनले सिञ्चित एमालेलाई मरभूमिकरणबाट जोगाउने दायित्व बोकेका छन् ।
आठ दशक लामो संघर्षबाट एमाले देशको सबैभन्दा ठूलो दल मात्र बनेको थिएन, जनताको आशाको केन्द्र पनि बनेको थियो । पुष्पलाल श्रेष्ठ जस्ता नेताले स्थापना गरेको कम्युनिस्ट पार्टीबाट विकसित हुँदै तत्कालीन नेकपा माक्र्सवादी र नेकपा मालेबीच एकतापछि एमाले बनेको थियो ।
मदन भण्डारीजस्ता विचारक र मनमोहन अधिकारी जस्ता सादगी नेताले एमाले फल्यो फुल्यो । ३० वर्ष लामो पञ्चायती व्यवस्था ढाल्न एमालेको महत्त्वपूर्ण भूमिका रह्यो । २०५१ मा संसदमा सबैभन्दा ठूलो दल बन्यो । नेपालकै इतिहासमा मनमोहन अधिकारी पहिलो कम्युनिष्ट नेता बने ।
एमालेको नौ महिने शासन नेपालको इतिहासकै स्वर्णिम युग बनेको थियो । एमालेको अहिलेको बलियो संगठन बनाउन माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम जस्ता नेताहरूले गाउँ गाउँ खटिएर काम गरेका थिए । अन्ततः ओली अध्यक्ष हुँदा उनीहरू नै एमालेबाट खेदिए ।
एमालेका जुझारु र अनुभवी नेताहरू खेदिनुमा केपी शर्मा ओलीको अहंकार र पूर्वाग्रही शैली नै मुख्य कारण बन्यो । प्रतिस्पर्धीलाई कुनै हालतमा देखि नसहने र आलोचकलाई दुस्मन नै ठान्ने उनको शैली देखियो । यतिसम्मकी उनलाई विगतमा साथ दिएकी विद्या भण्डारीलाई पार्टी प्रवेशमा रोके । ईश्वर पोखरेललाई बोल्न पनि नदिने परिस्थिति निर्माण गरे ।
आफ्नो साटो कोटरीबाट एमाले हाँक्ने उनको महत्वाकांक्षाले पार्टीले ठूलो क्षति भोगिरहेको छ अहिले । उखान टुक्कामा खप्पिस ओलीमा संगठनमा सबैलाई समेटेर र सक्रिय बनाएर लाने क्षमता देखिएन । जसका कारण उनमा अझै पनि गल्तीको अलिकति पनि महसुस देखिँदैन । म जे गर्छु ठिक गर्छु र मैँले जे गर्नेछु ठिक गर्नेछु भन्ने अहंकारी तानाशाहीको शैली उनमा देखियो । जसका कारण एमाले अहिले इतिहासकै संकटपूर्ण घडीमा छ ।
युवाको असन्तुष्टि विद्रोह बनेपछि पनि ओली त्यसलाई मात्र विदेशी हस्तक्षेपका रूपमा व्याख्या गर्दै छन् । चुच्चे नक्सा निकालेको कारण उनी प्रधानमन्त्री हुँदा देशको कूटनीतिक सम्बन्धलाई रसातलमा पु¥याएका छन् । दुई छिमेकीसँग सम्बन्ध बिगारेका छन् । पैसाको मोलतोल गरेर राजदूतहरू पठाउने सम्मको घटना जगजाहेर छ । छिमेकीलाई चिढ्याउने र जिस्क्याउने सम्मका गतिविधि गरे । कहिले चाइनाकार्ड त कहिले भारतकार्ड प्रयोग गरेका छन् ।
पश्चिमाहरूको सम्बन्धमा पनि निकै खेलबाड गरे । देशभित्र बेरोजगारी बढ्यो । भ्रष्टाचार मौलायो । विदेशमा भ्रष्टाचारको पैसा पुगेको अख्तियार प्रमुखले नै खुलासा गरे । नेताहरूको घर घरमा पैसा जलेको जेनजी विद्रोहको घटनाका क्रममा घाम जत्तिकै छर्लङ्ग छ । सूर्यलाई हत्केलाले छेक्न सकिँदैन । ओलीको पालामा भएका व्यथिति र विसङ्गति उनका उखान टुक्का हाँसी मज्जाले छेकिने र बिर्सनेवाला छैनन् ।
तैपनि, सल्लाघारीमा एआईको प्रयोगले राताम्मे भीड देखाएर ओलीका आसेपासे भ्रम छर्न छाडेका छैनन् । तर, एआई बुझेका नेपाली जनता ओली र उनका आसेपासोको भ्रमबाट मुक्त भइसकेका छन् ।
ओलीको नेतृत्वबाट एमालेका कार्यकर्ता उकुसमुकुस छन् । कतिपय डरले बोलिरहेका छैनन् त कतिपय करले । जो एमालेको हित चाहन्छ उसले बोल्ने साहस गरिरहेका छन् । कतिले त उनीबाट एमालेको मुक्तिका लागि साहस गरेका छन् । ईश्वर पोखरेल एमाले नेतृत्वमा ओलीलाई चुनौती दिन मैदानमा उत्रिएका छन् । नेता बन्ने क्षमता यही हो । जस्तोसुकै संकटमा पनि पार्टीका लागि जोखिम मोलेर काम गर्ने नै वास्तविक नेता हुन्छन् । संकटबाट पार्टीलाई जोगाउन आफ्नो राजनीतिक भविष्यलाई दाउमा राख्न तयार हुने नै नेता हुन्छन् ।
ईश्वर पोखरेलले आफ्नो राजनीतिक भविष्य भन्दा एमालेको भविष्य सम्झिएर मैदानमा उत्रिएका हुन् । जीत हार प्राविधिक विषय हो । अहिले एमालेलाई जोगाउने नेतृत्वको खाँचो छ । त्यसका लागि ईश्वर पोखरेल बलिदानी भावका साथ मैदानमा उत्रिएका छन् । उनको टिम एमालेभित्र खारिएको र लामो संघर्ष गरेर आएको नेताहरूले भरिएको छ ।
तिनले ओलीको गलत कार्यशैलीको विरोध मात्र गरेनन् एमालेको साखलाई जोगाउन समय खर्चिए । अहिले एमालेलाई जनता सामु जाँदा देखाउने नेताहरूमा अधिकांश ईश्वर पोखरेलकै टिममा देखिएका छन् । भविष्यमा एमाले र कम्युनिस्ट आन्दोलन हाँक्ने परिपक्व टिम नि यही हो भन्ने प्रमाणित भइसकेको छ । ईश्वरी अग्निपरीक्षामा छन् । उनी त्यसमा उत्तीर्ण भएमा एमाले पतनबाट जोगिएला । नत्र ओलीको भष्मासुर शैलीले उनीसँगै एमाले पनि पतनको बाटोमा जाने दिन टाढा छैन । समय बलवान छ ।











