२ पुस, जनकपुरधाम । मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनकपुरधामस्थित प्रदेश सरकारअन्तर्गतका १८ वटा कार्यालयमा छड्के निरीक्षण गर्दा ७२ जना कर्मचारी कारबाहीमा परेका छन् ।

पुस १ र २ गते गरिएको निरीक्षणमा पहिलो दिन ४८ जना र दोस्रो दिन २४ जना कर्मचारीले नियम उल्लङ्घन गरेको पाइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ। निरीक्षणका क्रममा पूर्वस्वीकृति बिना अनुपस्थित, तोकिएको पोषाक नलगाएको, हाजिर नगरेको लगायतका अनियमितता भेटिएका थिए ।
कारबाहीमा परेका कर्मचारी प्रदेश सहकारी रजिष्ट्रार कार्यालय, विभिन्न मन्त्रालय, निर्देशनालय, डिभिजन वन कार्यालय, पूर्वाधार विकास कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विकास केन्द्रलगायतका कार्यालयमा कार्यरत रहेका छन् ।
कारबाहीमा पर्नेमा ५५ जना पुरुष र १७ जना महिला छन्। तहगत रूपमा उपसचिव २ जना, शाखा अधिकृत सरहका ४१ जना, नायब सुब्बा सरहका १६ जना, खरिदार सरहका ४ जना, सवारी चालक ३ जना र कार्यालय सहयोगी ६ जना रहेका छन् ।
मुख्यमन्त्री कार्यालयका अनुसार ३४ जना कर्मचारी पूर्वस्वीकृति बिना अनुपस्थित थिए भने ३८ जनाले तोकिएको पोषाक लगाएका थिएनन् । नियम उल्लङ्घन गर्ने कर्मचारीलाई प्रचलित कानुनअनुसार कारबाही गरी सम्बन्धित निकायमा विवरणसहित पत्राचार गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस्ता छड्के निरीक्षणलाई निरन्तरता दिँदै मधेश प्रदेशका बाँकी सात जिल्लामा समेत अनुगमन गर्ने जनाएको छ ।











