Logo
Logo

अटोभित्रै प्रसूति : जोखिम, साहस र एक आमाको आँसु


शर्मिला कठायत

1.8k
Shares

लामो समयको बसाइपछि दुप्चेश्वर गाउँपालिकाबाट विदाइ लिँदा मन असाध्यै भारी भयो । चिनजान, अपनत्व र सम्झनाले गाँसिएको ठाउँ छोड्नु सजिलो हुँदैन । तर, विदाइ भइसकेपछि त्यो ठाउँ छाड्नैपर्ने । कतै न कतै त पुग्र्नैपर्ने । नयाँ बाटो रोज्नैपर्ने । यही अनिवार्य यात्राले मलाई डोर्यायो दुर्गम हिमाली जिल्ला पूर्वी रुकुमको भुमे गाउँपालिका तर्फ ।

करिब तीन दिनको कठिन यात्रा । उकालो–ओरालो, अप्ठ्यारो बाटो र मौसमसँगको संघर्ष पार गर्दै शरीरमा गह्रौं थकान र मनमा अनिश्चितताको बोझ बोकेर भुमे पुगेँ । थकानले शरीर शिथिल भएपनि यसलाई आफ्नो नयाँ कर्मथलो बनाउने सोचले मनभित्र एक किसिमको उत्साह र गर्व पलाइरहेको थियो । नयाँ भूगोल, नयाँ समाज र नयाँ संघर्षका बीच भुमे गाउँपालिका–४ स्थित काँडा स्वास्थ्य चौकी मेरो जिम्मेवारीको केन्द्र बन्यो ।

उक्त स्वास्थ्य चौकीमा हाजिर भई काम सुरु गरेको दुई साता पनि नबित्दै, एउटा यस्तो घटना घट्यो, जसले मेरो जीवन र पेशागत अनुभूतिलाई गहिरो रूपमा झकझक्याइदियो । २०८२/०८/१७ गतेको मध्यरातमा घटेको त्यो क्षण आज पनि स्मृतिमा झलझली आइरहन्छ । बिहान करिब तीन बजेतिर “हेलो सिस्टर… हेलो सिस्टर…” भन्दै आत्तिएको आवाजले निद्राबाट झसङ्ग ब्युँझाएँ । हतारिँदै तल झरेर गेट खोल्दा अटो चालक दाइ गर्भवती जनपुरी बुढालाई अटोमै लिएर आइपुग्नुभएको रहेछ ।

उहाँ यसअघि नै कार्तिक २९ गते प्रसूति मिति ४४ हप्ता नाघिसकेकाले पूर्वी रुकुम जिल्ला अस्पतालमा रिफर गरिएको थियो । तर, मंसिर ०३ गते मात्र रुकुमकोट जिल्ला अस्पतालमा भर्ना भए । त्यहाँ सिजेरियन सेक्सनको तयारी भइरहँदा आमाको मुटुमा समस्या देखिएकाले नेपालगञ्जस्थित भेरी अस्पताल रिफर गरिएको रहेछ ।

भेरी अस्पतालमा गरिएको सम्पूर्ण जाँचपछि बच्चा सुल्टो रहेको, आमाको स्वास्थ्यमा तत्काल गम्भीर जोखिम नरहेको र गर्भकाल अझै पूरा नभएको, ३९ हप्ता मात्र भएको निष्कर्ष निकाल्दै आमा–बच्चा दुबैलाई पुनः घर पठाइएको रहेछ ।

स्वास्थ्य चौकीमा ल्याई परीक्षण गर्दा अवस्था अत्यन्तै संवेदनशील थियो । पाठेघरको मुख पूर्ण रूपमा खुलेको थियो । भ्रुणको एउटा खुट्टा र नाल बाहिर निस्किएको थियो । तर, पानीपोतो भने नफुटेको अवस्था थियो । मैले परिवारलाई वास्तविक स्थिति स्पष्ट रूपमा बुझाउँदै यहाँ सुरक्षित प्रसूति सम्भव नरहेको र तुरुन्तै जिल्ला अस्पताल लैजानु आवश्यक रहेको सल्लाह दिएँ । तर परिवारले त्यो प्रस्ताव अस्वीकार गर्यो । “म मरे पनि यहीँ मर्छु, तर सक्नुहुन्छ भने मेरो बच्चा बचाइदिनुस्” भन्दै आमा रुन थाल्नुभयो। त्यो क्षण शब्दभन्दा पनि मानवीय पीडाले मन छोप्यो ।

स्थितिको गम्भीरता बुझेर मैले तत्काल स्वास्थ्य चौकी प्रमुखलाई जानकारी गराएँ । आवश्यक सामग्री संकलन गरी हामी आफैँ अटोमा आमालाई राखेर जिल्ला अस्पतालतर्फ लाग्यौँ । तर अस्पताल पुग्नुअघि धौलापहिरा भन्ने स्थानमा बिहान करिब ४ः३० बजे पीडा असह्य बन्यो । त्यही बेला पानीपोतो फुट्यो । र, एउटा खुट्टा तथा नाल मात्र बाहिर निस्किएको अवस्था देखियो ।

अब निर्णयको समय थियो । र, त्यो निर्णय ढिलाइ गर्न मिल्ने थिएन । मोबाइलको मधुरो बत्तीको सहारामा अटोभित्रै प्रसूति गराउने साहसिक निर्णय लिनुप¥यो । कठिन, जोखिमपूर्ण र तनावपूर्ण परिस्थितिबीच अन्ततः ३ केजी ७२५ ग्राम तौलको स्वस्थ छोराको सुरक्षित जन्म भयो । त्यो क्षण गहिरो सास फेरँदै मनभित्रै भगवानलाई धन्यवाद दिएँ । आमा र बच्चा दुवैको ज्यान बचाउन सफल हुँदा अपार सन्तोष र मानव जीवनप्रतिको गहिरो कर्तव्यबोधले मन भरियो ।

अवस्था सामान्य रहेकाले आमा र नवजात शिशुलाई न्यानो बनाउँदै हामी पुनः अस्पतालतर्फ अघि बढ्यौँ । यसले समयमै सही परामर्श (काउन्सेलिङ) लिनु, स्वास्थ्यकर्मी र अस्पतालले दिएको निर्देशनलाई गम्भीरतापूर्वक पालना गर्नु र गर्भवती आमा तथा नवजात शिशुको सुरक्षामा परिवार, समुदाय र स्वास्थ्य प्रणाली सबै सचेत हुनु अनिवार्य छ भन्ने सन्देश दिएको छ । यस्ता जोखिमपूर्ण अवस्थाहरू दोहोरिन नदिन सामूहिक जिम्मेवारी, समयमै निर्णय र विश्वास अपरिहार्य हुन्छ ।

यस्ता अनुभवहरूले बारम्बार सम्झाउँछ– स्वास्थ्यकर्मीको पेशा केवल रोजगारी होइन, यो मानव जीवनप्रतिको उत्तरदायित्व, करुणा र सेवाभावको गहिरो प्रतिवद्धता हो । सही निर्णय, सहकार्य र विश्वासले अँध्यारो यात्रामै पनि जीवनको उज्यालो जन्माउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्