Logo
Logo

जेन-जि आन्दोलनपछि नाइमाको सहकार्य, यातायात र ट्राफिक कार्यालयलाई राहत


378
Shares

काठमाडौं । नेपाल अटोमोबील इम्पोर्टर्स एण्ड म्यान्यूफ्याकचरर्स एसोसिएशन नाइमाले गत भाद्र २३ र २४ गते भएको जेन-जि आन्दोलनका क्रममा गम्भीर रुपमा प्रभावित भएका यातायात व्यवस्था विभाग तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई प्रदान गरिएको आपतकालीन सहयोग सफलतापूर्वक सम्पन्न गरी औपचारिक रूपमा हस्तान्तरण गरेको छ ।

The current image has no alternative text. The file name is: naiva.jpg

नाइमा अध्यक्ष रितु सिंह वैद्य, बोर्ड सदस्य यमुना श्रेष्ठ, कार्यकारी निर्देशक राजकुमार दुलाल सहितको टोलीले मङ्गलबार सो हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले आपतकालीन अवस्थामा प्राप्त नाइमाको सहयोग अत्यन्तै महत्वपूर्ण रहेको र सोही सहयोगको कारण विभागले पुनः आफ्नै कार्यालयबाट सेवा सञ्चालन गर्न सक्षम भएको बताउँदै संस्थाप्रति आभार व्यक्त गरे ।

यसैगरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले नाइमाबाट प्राप्त संस्थागत सहयोग तथा यसका सदस्यहरूद्वारा गरिएको आपतकालीन सहयोगको उच्च प्रशंसा गरे । उनले स्थापनाको छोटो समयमै नाइमाले ट्राफिक कार्यालयसँग दीर्घकालीन सहकार्य र साझेदारी स्थापना गर्न सफल भएको उल्लेख गर्दै संस्थालाई ट्राफिक शिक्षा र व्यवस्थापनको एक भरपर्दो सहयात्रीको रुपमा चित्रण गरे ।

कार्यक्रममा अध्यक्ष वैद्यले संकटको घडीमा यो सानो सहयोग गर्न पाएकोमा गौरवान्वित भएको बताउँदै सार्वजनिक सेवा प्रवाहमा संलग्न निकायहरूसँग सहकार्य गर्नु नाइमाको कार्यगत अवधारणा रहेको र आगामी दिनहरूमा यस्तो सहकार्यलाई अझ सुदृढ बनाउँदै लगिने प्रतिबद्धता जनाइन् ।

कार्यकारी निर्देशक दुलालले सहयोगको विवरण दिँदै यातायात व्यवस्था विभाग मीनभवनको मुख्य भवनको सम्पूर्ण झ्याल र ढोकाहरूको पुननिर्माण र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई फर्निचर, फर्निसिङ, कम्प्युटर, प्रिन्टर लगायतको सहयोग उपलब्ध गराइएको बताए ।

प्रतिक्रिया दिनुहोस्