
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले ११औँ महाधिवेशनमा उठाइएको मुद्दा चाँडै पार्टी पंक्तिबाट ‘अनुमोदन’ हुने दाबी गरेका छन् ।
आफूहरूले पार्टीमा राखेका प्रस्तावले राजनीतिक वृत्त, सञ्चार जगत्, बुद्धिजीवी तथा आमजनसमुदायकै ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले सामाजिक सञ्जालमार्फत आफुहरुले उठाएका मुद्दा निकट भविष्यमै अनुमोदन हुने बताएका हुन् ।
साथै उनले एमालेजनलाई हतोत्साही नभइ पार्टीमा प्रतिवद्ध रहन पनि आग्रह गरेका छन् ।
उनले लेखेका छन्, ‘यतिबेला नेपाल, नेपाली जनता, लोकतन्त्र, संविधान, राजनीतिक दल र स्वयम् हामी व्यक्तिहरू पनि इतिहासकै कठिन क्षणबाट गुज्रिरहेको अवस्था छ । यो बेला हामीले गम्भीर समीक्षा गरी सही निकास दिनुपर्ने छ । यसका लागि धैर्यता अनिवार्य छ ।’
उनले यही कार्यभार पूरा गर्न एमालेको ११औँ महाधिवेशनमा पार्टीको बहुआयामिक पुनर्गठन र नेतृत्व हस्तान्तरणको बिषय अघि सारेको र यो प्रस्तावले नेपालको राजनीतिक वृत्त, सञ्चारजगत, बद्धिजीबी तथा आमजनसमुदायको पर्याप्त ध्यानाकर्षण भएको बताएका छन् ।
उनले भनेका छन्, ‘आगामी दिनमा पनि यो बहस निरन्तर जारी रहने छ, पार्टीको अन्तरसंघर्षमा आश र त्रासबाट मुक्त भएर यो जोखिम उठाएका हौँ ।’ उनले पार्टीका सम्पूर्ण नेता कार्यकर्तालाई विचलित नहुन र पार्टी एकताका पक्षमा भूमिका निर्वाह गर्न पनि अनुरोध गरेका छन् ।












