Logo
Logo

रिसको झोंकमा लेखेको चिठ्ठी


1.2k
Shares

हाम्रो तीन जनाको सानो संसार थियो । तीन जना तीनवटा फरक देशमा बिताउनुपर्ने अवस्था आयो । कसैको निम्ति पनि त्यो सहज र रमाइलो लाग्ने कुरा थिएन । छोरीलाई फोन गर्न नपाएर र चिठ्ठी पनि बेलामा पठाउन नसक्दा रातदिन छोरीसँग मनमनै माफी मागरहेकी हुन्थेँ ‘तुइ पु छि छोरी !’ भनेर ।

छोरीसँग कुरा गर्दा चिनियाँ भाषामा नै सजिलो हुन्थ्यो । त्यसैले मनमनै ‘कुरा गर्दा’ पनि झट्ट चिनियाँ भाषा नै आउने गथ्र्यो त्यो बेला । म विदेश डुलिरहेकी डुलुवालाई बेलामा कसैको चिठ्ठी आइपुग्न पनि त्यति सजिलो थिएन । बुढासँग पनि फोनमा कुरा हुनसकेको थिएन । उनी शाङ्हाई फर्केपछि कोठामा फोन गर्दा उठेन फोन । अहिले जस्तो कहाँ सजिलो थियो र कुरा गर्न ! म हरेक दिन नयाँ ठाउँमा नयाँ अनुभव बटुलिरहेको र माया पाइरहेको भए पनि परिवारसँग छुटिएर बस्नु भनेको कति कठिन हुँदोरहेछ, भन्ने कुराको अनुभूति पनि गरिरहेकी थिएँ ।

बितेका समयका कठिनाइहरु त बिर्सिपनि सकेकी थिएँ । आफ्नो पेटमा बच्चा हुँदा सरोज कहिल्यै नदेखेको गाउँमा भूमिगत गएको कुरा होस् या पढ्न भनेर तीन–चार वर्षकी छोरी र मलाई देशमै छोडेर चीनमा गएको कुरा होस् । तर त्यतिबेला आफू एक्लै छैन भन्ने लाग्थ्यो । अगाडि पछाडि, मेरो नजिक कोही त छन् भन्ने लाग्थ्यो । दिनभरि बच्चाहरुको स्कुलमा काम गर्थें । आफन्तहरुकै बिचमा हुन्थेँ म । जिम्मेवारी प्रशस्त हुन्थ्यो– परिवार, समाज राजनीति आदिकै बिचमा थिएँ । बरोबर सरोजलाई चिठ्ठी लेखिरहेकै हुन्थेँ र उनको चिठ्ठी पनि पाइराखेकै हुन्थें ।

तर यो बेला विशेष थियो । म जापानको गाउँ सहर डुलिरहँदा, बुढा देशमा आएको ४६ सालको परिवर्तन पछि नयाँ सपना बोकेर देशमा नयाँ तरिकाले स्वास्थ्य सेवा दिने योजना बुन्दै थिए । छोरीलाई घरमा छोडेको भए पनि म आफै नअटिसकेको घरमा छोरीलाई एक्लो छोड्नु असहज मात्र नभएर त्यो एउटा अव्यावहारिक निर्णय नै थियो हाम्रो । सानी छोरीलाई सबभन्दा गाह्रो भयो । आमा–बाबुबिनाको आफ्नो देश पनि विरानो हुने नै भयो । त्यसमाथि परम्परागत घरमा उनले सबै कुरा बुझ्न सक्ने बेला भएकै थिएन । उसलाई भएको त्यो दुःखको छाप पछिसम्म उसको र मेरो मनमा बाँकि नै रहिरह्यो– अझै पनि दुख्छ बेला बेलामा ।

जापान यात्रा मेरो निम्ति ज्यादै सुमधुर भए पनि, साथीहरुको प्रशस्त माया पाए पनि, अव्यक्त दुःखको पाटो पनि अझै सम्झिन्छु । जीवन यात्रामा किसिम किसिमका अनुभव हुनु आफ्नै ठाउँमा छ । ज्यादै सम्पन्न देशको मखमली बिछ्यौनामा सुत्ने अवसर पाएपनि मेरा धेरै रातहरु त अनिदोमै बित्थे ।

अचानक साथीको घरमा बुढाको चिठ्ठी पाएँ ।त्यतिबेला हातसम्मै चिठ्ठी पाउनु पनि अचम्मकै कुरा थियो मेरो निम्ति । बल्ल पाएको चिठ्ठी खोलेर हेर्न हतार लाग्यो । खोल्ने बित्तिक्कै नोटमा लेखेका अक्षरहरु मनमा टाँसिन पुगे । चिठ्ठी पढ्ने बित्तिक्कै च्यातिदिनु भनी लेखेका रहेछन् नोटमा । चीन फर्केपछि होस्टेलको खाली कोठामा एक्लै बस्नु, छोरीलाई नेपाल छोड्नु परेको कुराले उनलाई त्यसैपनि नमज्जा लागिरहेकै थियो होला । त्यहाँमाथि मैले अलि अगाडिको चिठ्ठीमा व्यक्त गरेको “पाएदेखि केही काम पनि गरेर फर्किन्छु हात खाली फर्किनु भन्दा…”
भन्ने कुराले उनको त्यो संवेदनशील भइरहेको मनलाई अझै चिमोटेछ ।

चीनबाट नेपाल फर्किन पनि पैसा नै चाहिएको बेला थियो । लेखेर जम्मा गरेको अलिकति पैसा बुढा छोरीलाई नेपाल फर्काउन र फेरि चीन फर्कनको निम्ति प्रयोग भइसकेको थियो । वास्तवमा मलाई त्यतिबेला वर्तमानमा रमाउनु भन्दा पनि भविष्य र विगतको कुराले मनमा चिन्ता आइरहन्थ्यो ।

छोरीलाई एक्लै छोड्नु परेको कुरादेखि आफूसँग पैसा नभएको स्थितिमा नेपालमा फर्किने बित्तिक्कै कहाँ बस्ने? कसरी दिन चलाउने भन्ने कुराले पिरोलिरहन्थ्यो । सरोजले विद्यावारिधि गरेर घर फर्के पनि उनी पैसा कमाउने खालको मान्छे नै होइन भन्ने मलाई थाहा थियो । चिन्ता भन्नु नै भ्रमले सिर्जना गर्ने कुरा हो भन्ने कुरा बुझिसकेकी थिइन ।

जापान बस्ने दिन यसै पनि सकिँदै थियो । जापान छोड्ने तीन दिन अगाडि मात्रको त्यो चिठ्ठीले मलाई पनि रन्थनायो एकछिन । सारांशमा भन्नुपर्दा आफू भने देशमा गर्नुपर्ने नयाँ कामहरु सोचेर उत्साहित भएर फर्केको बेला बुढी भने पैसा कमाउनकै निम्ति अलि धेरै समय जापान बस्ने कुरा गरिरहेकी छ भन्ने कुराले उनलाई झोँक चलेको थियो ।

“हामीले पैसा कमाउने धेरै धनी हुने सपना कहिल्यै देखेनौं । तिम्रो सोच फेरिएको देख्दा… म पनि मध्यपूर्वको कुनै अस्पतालमा पैसाको निम्ति काम गरौँ त ?…” यसरी झोंकिएर लेखेको भए पनि चिठ्ठीमा माया प्रेमका कुरा पनि नभएको हैन । तर ती सब गौण भइदिए । थेसिस सिध्याएर सर्टिफिकेट हात पार्नु मात्र बाँकि थियो । डिफेन्स गर्ने समय पनि नजिक नै आईसकेको थियो ।

चिठ्ठी पढेपछि बुढाको मन र अवस्थाले झन् छिटो उडेर शाङ्हाई पुगुँजस्तो भयो । त्यही दिन मैले जसरी भए पनि फोनमा कुरा गर्नुपर्छ भन्ने लाग्यो र साथीसँग यो कुरा राखेँ । इशिजुकाको अपार्टमेन्टमा आइसकेकी थिएँ । भोलिपल्ट नेपालमा अस्पताल बनाउन सहयोग गर्नसक्ने एकजना ठूलै मान्छेसँग भेटाउने योजना बनाइसकेका थिए साथीहरूले ।

चिठ्ठी पढेपछि कुनै ठाउँमा जाने इच्छा जागेन । उत्साहको सट्टामा अधैर्यले ठाउँ ओगटिसकेको थियो मनमा । फोन पछि बुढालाई अलि केही दिनको निम्ति धैर्य गरौँ त भनेँ । कुराकानीपछि बुढाको रिसको मात्रा पनि केही घटिसकेको थियो ।

जापानमा कामै गरेर बस्नु पनि कहाँ सजिलो थियो र काम पाएकै भए पनि । म सँगसँगै पिकनिकमा सामेल हुने एकजना चिनिया केटी थिइन् चाङ थरकी कोबेमा कतै काम गर्दै थिइन् । जापानको निम्ति उनी पनि विदेशी म पनि विदेशी । मैले सबैको माया सम्मान पाएको भएर अरुलाई पनि त्यहाँ त्यस्तै होला भनी सोचेकी थिएँ । उनले चिनियाँ भाषामा मलाई आफूले बेहोर्नुपरेको अपमानका कुरा सुनाएकी थिइन् ।

“तिमी त लेखक भएर आएको भएर पो विशेष सम्मान पाएकी छाँै, म त पैसाको निम्ति काम गर्न आएकी ! कति हेपाई खानु पर्छ यहाँ ..” भनिन् । त्यो बेला सम्म चीनबाट पनि पैसाको निम्ति अरु देशमा दुःख गर्नेहरु अझै थिए । बुढाले त्यो चिठ्ठी पढेर च्यातिदेउ भनेको भए पनि म कहाँ च्यात्न सक्थें र ! जीवनको भोगाईको एउटा दस्तावेज थियो त्यो ।

प्रतिक्रिया दिनुहोस्