काठमाडौं । कामना सेवा विकास बैंकले बुटवल क्षेत्रअन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सम्पन्न गरेको छ । बैंकले आफ्नो शाखा कार्यालय भैरहवा र मणिग्राममार्फत समुदायलक्षित सामाजिक कार्यक्रमहरू सञ्चालन गरेको हो ।

यसअन्तर्गत भैरहवा शाखामार्फत लुम्बिनी अपांग दृष्टिविहीन अनाथ आश्रमलाई तीन थान बेड तथा मणिग्राम शाखामार्फत शान्ति नमुना माध्यमिक विद्यालयलाई जाडोयामलक्षित न्यानो कपडा बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले हस्तान्तरण गरे ।
त्यस्तै, बुटवल क्षेत्र प्रमुख आचार्यले सामाजिक उत्तरदायित्वअन्तर्गत अनाथ आश्रममा रहेका दृष्टिविहीन व्यक्तिहरूका लागि बेड तथा आर्थिक रूपमा कमजोर र दृष्टिविहीन बालबालिकाहरू अध्ययनरत विद्यालयमा न्यानो कपडा वितरणमा बैंक सहभागी हुन पाएकोमा अत्यन्तै खुशी व्यक्त गरे ।

सहयोगप्राप्त संस्थाहरूले बैंकद्वारा गरिएको यस मानवीय पहलप्रति खुसी व्यक्त गर्दै आभार प्रकट गरेका छन् । कार्यक्रममा सम्बन्धित संस्थाका प्रतिनिधिहरू, बैंकका कर्मचारीहरू तथा अन्य सरोकारवालाहरूको उपस्थिति थियो ।
यससँगै बैंकले आगामी दिनहरूमा समेत सरोकारवालाहरूको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरूलाई निरन्तरता दिने बताएको छ । ।











