
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो दम्पतीलाई अमेरिकी सेनाले राष्ट्रपति निवासबाट मध्याराती सुतेकै अवस्थामा अपहरण गरेर अमेरिका पु¥याएको घटनाले विश्वलाई चिन्तित र त्रसित बनाएको छ । यस घटनाको नेपालले ढिलो भए पनि प्रतिक्रिया दिएको छ । खासगरी, नेपालका कम्युनिष्ट पार्टीका नेताहरूले समेत यस घटनामा मौनता साँधेका छन् ।
राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताका विषयमा ठूला ठूला भाषण गर्ने कम्युनिष्ट नेताहरू अमेरिकाले अरू देशको सार्वभौमिकतामाथि धावा बोल्दासमेत मौन रहनुले यी सक्कली कम्युनिष्ट हुन् कि नक्कली कम्युनिष्ट हुन् भन्ने छुट्याउन गाह्रो परेको छ ।
भेनेजुएलाको घटनाले ठूला र शक्ति राष्ट्रहरू चिन्तित छन् भने, साना राष्ट्रहरूमा त्रास बढेको छ । यसबाट नेपालीहरूले पाठ सिक्नुपर्छ र पार्टीभन्दा देशलाई माथि राख्नु पर्छ । तर, दुर्भाग्य हाम्रा देशका नेताहरूले सत्ताभन्दा माथि केही देखेका छैनन् । त्यही सत्ता प्राप्तिका लागि भेनेजुएलामाथि अमेरिकी साम्राज्यवादविरुद्ध बोल्ने आँटसम्म गरेका छैनन् । यसबाट हाम्रा नेताहरू कतिसम्मको काँतर रहेछन् भन्ने बुझिन्छ ।
त्यसो त एमसिसी प्रकरणमै हाम्रा नेताहरूको धोती खुस्किसकेको छ । एकातिर विरोध गरेजस्तो गर्ने, अर्कोतिर अमेरिका रिसाउला कि भनेर डर मान्ने प्रवृत्तिले नेपाल पनि बिस्तारै भूराजनीतिको चपेटामा पर्दै गएको छ ।
एमसिसी हेर्दा नेपालको पूर्वाधार विकासको परियोजनाजस्तो देखिए पनि त्यसका पछाडि अमेरिकाको रणनीतिक स्वार्थ छ भन्ने कुरालाई हामीले हेक्का राख्नैपर्छ । त्यो कुरालाई हामीले गम्भीर रूपमा बुझ्न नसक्दा नेपालका कम्युनिष्ट पार्टीहरूकै गुट फुटका कारण हामी भू–राजनीतिक चपेटामा परेका छौँ । यसले हाम्रा दुई छिमेकी देशलाई चिन्तित बनाएको छ ।
एमसिसीका विषयमा छिमेकी भारत मौनजस्तो देखिए पनि अर्को छिमेकी देश चीनले चिन्ता व्यक्त गरेको छ । एमसिसी पास गर्न अमेरिकाले नेपाललाई दबाब दिँदै गर्दा छिमेकी चीनले बेइजिङबाटै प्रतिवाद गरेको घटनाले पनि नेपालमा अमेरिकाको उपस्थितिलाई चीनले सतर्कतापूर्वक हेरेको बुझिन्छ । तर पनि हामीले छिमेकीको चिन्तालाई कहिले पनि आत्मसात गर्न सकेनौँ । जसका कारण दुवै छिमेकीबाट हामीले विश्वास गुमाउँदै गएका छौँ ।
अझ जेनजी विद्रोहले त छिमेकीलाई झस्काएको छ । नेपालको सिंहदरबारमा लागेको आगो छिमेकमा नसल्कियोस् भन्ने चिन्ता हाम्रा दुवै छिमेकीलाई परेको छ । त्यही भएर नेपालको राजनीतिक भविष्यलाई लिएर छिमेकीहरूले बारम्बार चासो राख्ने गरेका छन् ।
छिमेकी चीनले नेपालमा बिआरआई कार्यान्वयन नुहुनुको भित्री कारण बुझिसकेको छ भने, अर्को छिमेकी भारतले नेपालको राजनीतिक अवस्था आफ्नो नियन्त्रण बाहिर नजाओस् भन्ने चाहेको छ । त्यसैले निर्वाचन नजिकिँदै गर्दा भारतले राजनीतिक दलका नेताहरूलाई नयाँ दिल्लीमा रातो कार्पेट बिच्छ्याउँदै आएको छ ।
विश्वका यी दुई उदयीमान शक्ति राष्ट्रको विश्वास हामीले गुमायौँ भने हाम्रो स्वाधीनता, सार्वभौमिकता अपहरणमा पर्न सक्छ भन्ने कुरा भेनेजुएला घटनाबाट पाठ सिक्नुपर्छ । भदौ २३ र २४ गतेको जेनजी विद्रोहले ल्याएको आँधीबेहरीले दुईतिहाइको सरकार ढालेबाट चेत्नु पर्छ । कुनै पनि देशमा एकैरात विद्रोह सम्पन्न हुँदैन । त्यसका लागि सबैभन्दा पहिला आन्तरिक कारण प्रमुख हुन्छ । त्यो आन्तरिक कारण के हो भन्ने कुरालाई हामी आफैँले बुझ्नुपर्छ र सच्याउनु पर्छ । नभए, त्यही कमजोरीमा टेकेर बाह्य शक्तिले खेल्छ भन्ने कुरा भेनेजुएला घटनाले प्रस्ट पारेको छ ।
जेनजी विद्रोहको दोष बाह्य शक्तिमाथि थोपरेर आफ्नो कमी कमजोरी लुकाउने प्रवृत्ति हामीमा छ । तर, त्यो विद्रोह जन्माउनुको पछाडि हाम्रो सोच र व्यवहार कति जिम्मेवार छ भन्ने कुरा हामीले सोचेका छैनौँ । यही कमजोरीमा टेकेर हामीमाथि शक्ति राष्ट्रले खेलिरहेका छन् ।
शक्ति राष्ट्रका अनेकौँ स्वार्थ छ, त्यो स्वार्थलाई समयमा बुझ्न नसक्दा हाम्रै कारणले नेपाल भूराजनीतिक चपेटामा फस्दै गएको छ । यसको लागि सबैभन्दा पहिला हामीले हाम्रा दुई छिमेकीको चिन्ता, चासो र स्वार्थलाई ध्यान दिनुपर्ने हुन्छ । नेपाल सार्वभौम स्वतन्त्र देश भएकोले हाम्रो कमजोरीमाथि टेकेर बाह्य शक्तिले आफ्नो स्वार्थपूर्ति गर्ने अवस्था आउन दिनु हुँदैन । त्यसका लागि हामी सच्चिनुको विकल्प छैन ।
पूर्वराजा ज्ञानेन्द्रले पुस २७ गते दिएको सन्देशमा देशै नरहला कि भन्ने चिन्ता त्यतिकै व्यक्त गरेका होइनन्, त्यसभित्र गम्भीर कुरा लुकेको छ । जुन कुरालाई पृथ्वीजयन्तीको अवसर पारेर पूर्वराजा ज्ञानेन्द्रले सार्वजनिक गरेका छन् ।












