काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आफ्नो ३९औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

बैंकले बुधबार काठमाडौंको एलिस रिसेप्सनमा अध्यक्ष पृथ्वी बहादुर पाँडेको अध्यक्षतामा सेयरधनीहरुको उल्लेखनीय उपस्थितिमा सभा सञ्चालन गरेको हो। सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र वित्तीय विवरण प्रस्तुत गरी आवश्यक छलफल भएको थियो।
आर्थिक वर्ष २०८१/८२ मा बैंकले ४ अर्ब ३३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। स्रोत परिचालनमा बैंकको कुल निक्षेप ६९ अर्ब ४८ करोड रुपैयाँले वृद्धि भई ४ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ। कर्जा प्रवाहमा पनि २० अर्ब ८४ करोड रुपैयाँको विस्तार भएको छ, जससहित खुद कर्जा तथा सापटी रकम ३ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ।
बैंकले आफ्नो लगानी ३५ अर्ब ८७ करोड रुपैयाँले वृद्धि गरी १ खर्ब ४२ अर्ब रुपैयाँ पुर्याएको छ। संस्थाको चुक्ता पूँजी ३४ अर्ब १३ करोड रुपैयाँ रहेको छ भने कुल सेयरधनी कोष ६४ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ।
हाल बैंकले २७१ शाखा, २५९ एटीएम, ६५ एक्सटेन्सन काउन्टर र ६० शाखारहित बैंकिङ्ग मार्फत आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ।
अध्यक्ष पाँडेको प्रतिवेदन अनुसार, विगत केही वर्षयता आर्थिक तथा वित्तीय क्षेत्रमा देखिएको शिथिलताले यस वर्ष पनि असर पारेको छ। विशेषगरी आन्तरिक मागमा आएको संकुचनले बैंकको कर्जा असुलीमा चुनौती सिर्जना गरेको छ। कोरोना महामारीपछि देशमा सुरु भएको आर्थिक मन्दी, राजनीतिक अस्थिरता, लगानीमैत्री वातावरणको अभाव, र उत्पादन तथा व्यापार सुस्त हुँदा ऋणीहरूको भुक्तानी क्षमतामा ह्रास आएको छ। यसले ग्रामीण क्षेत्र, कृषि र साना–मझौला उद्यमजस्ता प्राथमिकताप्राप्त क्षेत्रमा विशेष प्रभाव पारेको छ।
यसका कारण बैंकको निष्क्रिय कर्जा दर ६.३५ प्रतिशत पुगेको छ भने गैर–बैंकिङ सम्पत्ति ३ अर्ब ६८ करोड रुपैयाँ कायम भएको छ। यद्यपि बैंकले नियामक नीतिको दायराभित्र रहँदै कर्जा असुली प्रक्रिया प्रभावकारी बनाउने र निष्क्रिय कर्जालाई नियन्त्रणमा राख्ने निरन्तर प्रयास गरिरहेको छ।
प्रतिवेदनमा भनिएको छ कि बैंकमाथि भौतिक आक्रमण, लुटपाट र कर्मचारीहरूमाथिको दुर्व्यवहार जस्ता अराजक गतिविधिले बैंकिङ व्यवसायमा चुनौती थपेको छ। जेनजी आन्दोलनपछि बढ्दो सामाजिक–राजनीतिक अस्थिरता, खस्कँदो लगानी वातावरण र बेरोजगारीले पनि बैंकिङ कारोबारमा नकारात्मक असर पारेको छ।
यी विषम परिस्थितिहरूका कारण बैंकले लगातार तीन वर्षदेखि लाभांश वितरण गर्न सकेको छैन, जसले सेयरधनीहरूमा निराशा सिर्जना गरेको छ।
अध्यक्ष पाँडेले बताए अनुसार, बैंकले लामो समयदेखि असुली नपरेको कर्जा विशेष प्राथमिकतामा राखेर व्यवस्थापन गर्ने र गैर–बैंकिङ सम्पत्तिलाई शीघ्र बिक्री गरी प्राप्त स्रोतलाई मूल व्यवसायमा लगानी गर्ने योजना बनाएको छ। कर्जाको गुणस्तर सुधार गर्न स्वचालित अनुगमन प्रणाली प्रयोग गरी जोखिमको पूर्वसंकेत पाउने र कर्जा असुली प्रक्रिया थप प्रभावकारी तथा कानुनी रूपमा सबल बनाउने प्रतिवेदनमा उल्लेख छ।
बजारको सूक्ष्म विश्लेषण गर्दै ग्राहक र व्यावसायिक क्षेत्रका नवीन आवश्यकताहरू सम्बोधन गर्न समयसापेक्ष बैंकिङ उत्पादन र सेवा बजारमा ल्याइने पनि प्रतिवेदनमा उल्लेख छ।
मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरपछि स्थापना भएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक हालसम्म सेयरधनीलाई लाभांश दिन सक्न सकेको छैन। उच्च निष्क्रिय कर्जाका कारण र राष्ट्र बैंकको दवावमा मर्जर गरिएको यस बैंकले लगानीकर्ताको अपेक्षा पूरा गर्न नसकेको छ। यी दुई बैंकको मर्जर २०७९ पुसमा भएको थियो।











