काठमाडौँ । मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज देशभर विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाएका छन् । त्यसैगरी अन्य समुदायले माघे सङ्क्रान्तिका रूपमा मनाउने माघ १ गतेलाई थारु समुदायले माघी पर्व मनाएका छन् ।

आज काठमाडौंको टुँडिखेलमा आयोजित विशेष सांस्कृतिक कार्यक्रममा मगर र थारु समुदायले आपसमा शुभकामना आदान प्रदान गरे । नेपाल मगर सङ्घ केन्द्रीय कार्यसमितिले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा मगर जातिको मौलिक संस्कृति झल्किने नाच, वेशभूषा, खानपान तथा परम्परागत खेलहरू प्रदर्शन गरिएको थियो ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ ।











