जेनजी विद्रोहले निम्त्याएको राजनीतिक उथलपुथलपछि देश बिस्तारै निर्वाचनमय बन्दै गएको छ । आगामी फागुन २१ गतेको निर्वाचनले देशलाई निकास दिने आशा गरिएको छ । यस पटकको निर्वाचनमा दश लाखभन्दा बढी युवा मतादाता थपिएकोले यो सङ्ख्या नेपालको राजनीतिमा निर्णायक मान्न सकिन्छ ।

खासगरी, जेनजी विद्रोह पुराना दलका भ्रष्ट अनुहारहरूले निम्त्याएको परिणाम भएका कारण पुराना अनुहार यस निर्वाचनबाट अस्वीकृत हुने विश्वास गर्न सकिन्छ । त्यही कुरालाई ध्यानमा राखेर नेपाली काँग्रेसमा विद्रोह भयो र नयाँ पुस्ताको हातमा नेतृत्व गएर कांग्रेस दास र लासको पार्टी नभएको सन्देश दिएको छ ।
तर, जेनजी विद्रोहले यति ठूलो झड्का दिँदासमेत एमाले सच्चिन तयार भएन । उसले पुरानै अनुहारलाई स्थापित गर्न चाह्यो, जो निर्वाचनको अग्निपरीक्षामा छ । जसका कारण शान्तिपूर्ण आन्दोलनमा गोली चल्यो र १९ जना युवाले अनाहकमा ज्यान गुमाउनुप¥यो । तर एमाले महाधिवेशनले ती दिवङ्गत युवाहरूप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गर्न कन्जुस्याइँ ग¥यो र उल्टै सत्ता पल्टाएको दोष विदेशी शक्तिमाथि थोप¥यो ।
यस घटनाबाटै आगामी निर्वाचनमा एमालेले कस्तो परिणाम भोग्ला भन्ने कुरा अनुमान गर्न सकिन्छ । एमालेले के कुरा बुझ्न सकेन भने जेनजी विद्रोह यथास्थितिवादी सोच र भ्रष्टाचारविरुद्धको आन्दोलन थियो, जसको एउटा पाटो एमाले पनि हो । त्यो सच्चिनु पथ्र्यो तर सच्चिन चाहेन । अब जनताले एमालेलाई सच्याउने दिन आउँदै छ ।
कुनै पनि राजनीतिक दलले जेनजी विद्रोहको विषयमा गहन अध्ययन, छलफल गरेको पाइएन । विभिन्न अड्कल गर्दै आरोप प्रत्यारोपमै दलका नेताहरू सीमित भए । जसले ‘देश खाएर शेष पल्टेका’ नेताहरू कत्तिको पानीमा रहेछन् भन्ने कुरा प्रस्ट पारेको छ । जेनजी विद्रोह एकै दिन, एकै रातमा भएको विद्रोह थिएन, त्यो विद्रोह पछाडि दशकौँदेखि आमनागरिकको मनमा थुप्रिएको भडास थियो । तीन दशकदेखि लोकतन्त्रको आडमा राज्य दोहन गर्नेविरुद्धको आक्रोश थियो । जसको सम्बोधन पटकपटकको राजनीतिक परिवर्तनबाट पनि हुनसकेको थिएन ।
जेनजी विद्रोहले ल्याएको राजनीतिक परिवर्तनले ती समस्याहरूको सम्बोधन गर्नुपर्छ । लोकतन्त्रको आधारस्तम्भ भनेको राजनीतिक दल हो, राजनीतिक दल नसुध्रिदासम्म देशको राजनीतिले सही बाटो अवलम्बन गर्न सकदैन । विगतमा राजनीतिक दलले सुरक्षा निकायदेखि संवैधानिक अंग, न्यायालय, कर्मचारी प्रशासनदेखि हरेक क्षेत्रमा दलीयकरण गरेको परिणाम उनीहरूले भदौ २४ गते भोग्नुप¥यो । आफैँले नियुक्त गरेका सुरक्षाकर्मीहरूले पनि उनीहरूको बचाउ गर्न सकेनन् र अन्ततः ऐतिहासिक धरोहर जोगाउन छाडेर सेनाले नेता जोगाउनु प¥यो ।
वास्तवमा, त्यो दिन सेनाले हेलिकप्टरबाट ज–जसलाई उद्धार ग¥यो, तिनीहरूकै कारण भदौ २३ र २४ गतेको दुर्घटना निम्तिएको हो । यसमा कति आन्तरिक, कति बाह्य कारण थिए होलान्, मूलतः ती कारणहरू यिनकै कारण उत्पन्न भएकोले यी अनुहार सच्चिनुको विकल्प छैन ।
किनभने, आन्तरिक कारण कमजोर नभई बाह्य कारण निर्णायक बन्न सक्दैन । आजको विश्वमा नेपालमा छिमेकीहरूको उत्तिकै चासो र चिन्ता छ, त्यसमाथि युरोपियन र अमेरिकाको पनि आ–आफ्नै स्वार्थ छ । त्यो कुरालाई बुझ्न नसक्दा जतिसुकै शक्तिशाली पदमा पुगे पनि त्यसको हालत कस्तो हुँदो रहेछ भन्ने कुरा हाम्रा नेताहरूले त्यो दिन प्रत्यक्ष भोगे । अब पनि सबै मिलेर देशको आन्तरिक समस्या समाधान गर्न तयार नहुने हो भने देश असफल राष्ट्रमा दर्ज हुन धेरै समय कुर्नु पर्दैन ।











