Logo
Logo

जेनजीपछि पहिलो चुनाव उत्साहभन्दा भ्रम धेरै


हरि रोका, राजनीतिक विश्लेषक

1k
Shares

आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ । राजनीतिक दलहरूले समानुपातिकतर्फको बन्दसूचीलाई अन्तिम रुप दिइसकेका छन् भने प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको अन्तिम तयारी भइरहेको छ । यससँगै देशमा निर्वाचनको माहोल तातिएको छ । नयाँ र पुराना दलहरू आ–आफ्नो एजेण्डा लिएर जनतामाझ जाँदैछन् । घोषणापत्र लेखनको कामलाई पनि दलहरूले सँगै अगाडि बढाएका छन् ।

जेनजी विद्रोहपछि पहिलो पटक हुन लागेको निर्वाचनलाई अर्थपूर्ण रुपमा हेरिएको छ । जेनजी पुस्तासहित आम मतदाताले कुन दललाई रोज्छन ? यो निर्वाचनमा कुनै एक दलको बहुमत आउँला कि नआउँला ? कुन दल पहिलो होला ? जस्ता विषयमा गाउँदेखि सहरसम्म, चिया पसलदेखि सामाजिक सञ्जालसम्म चर्चा परिचर्चा हुन थालेको छ ।

यही बिचमा विघटित संसद्को ठुलो दल नेपाली कांग्रेस विभाजित भएको छ । उक्त विभाजनलाई कारण देखाउँदै निर्वाचन सर्ने त होइन भन्ने आशंका पनि छ । आगामी निर्वाचनको सन्दर्भमा राजनीतिक विश्लेषक हरि रोकासँग दृष्टिले गरेको कुराकानीको सम्पादित अंश ।

फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको माहोल तालिदै गएको छ । दलहरूले उम्मेदवारी दर्ता गरेका छन् । तपाईंले यो निर्वाचनलाई कसरी हेर्नुभएको छ ?
देश निर्वाचनमा होमिसकेको भए पनि आम मानिसका मनमा फागुन २१ गते नै निर्वाचन हुन्छ कि हुँदैन भन्ने प्रश्न उब्जिएको छ । उम्मेदवारी मनोनयन पनि केही समय सार्ने हो कि भन्ने बहस सुरू भएको छ । कांग्रेसको शेरबहादुर देउवा पक्ष अदालत र निर्वाचन आयोग गएको छ । अदालतको निर्णय के आउने हो भन्ने चासो छ । त्यसले गर्दा आम मानिसमा अन्योलको स्थिति छ । तर, निर्वाचनको विकल्प छैन । शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेर ताजा जनादेशको आधारमा देश अघि बढ्नुको विकल्प छैन ।

मुख्यगरी कांग्रेस र एमालेमा ठुलो आन्तरिक विवाद छ । कांग्रेस विभाजित बनेको छ भने, एमालेमा ओलीले विद्या भण्डारी–ईश्वर पोखरेल पक्षलाई बाहिर राखेर उम्मेदवार छनोट गरेको छ । निर्वाचनमा यसको असर कस्तो पर्ला ?
यसले एमालेभित्रकै एउटा पक्षले विपक्षी उम्मेदवारलाई भोट दिने स्थिति बन्न सक्छ । भोट साटासाटको स्थितिमा एमालेको आधिकारिक उम्मेदवारलाई नै हानी पुग्छ । जस्तो, कांग्रेसको बागीले अर्को जित्ने को छ भन्ने छानेर त्यसैलाई भोट हाल्ने, एमालेको बागी को छ भनेर त्यसैलाई भोट दिने स्थिति आउन सक्छ । कतिपय कार्यकर्ता भोट हाल्न नगइ चुपचाप बस्ने स्थिति पनि आउँछ । त्यसले अरू पार्टीलाई फाइदा पुग्ने सम्भावना रहन्छ ।

यही स्थितिमा कांग्रेस र एमालेको संख्या आगामी निर्वाचनमा घट्ने देखियो होइन ?
अधिकांश स्थानमा एउटा यस्तो पोजिसन बन्न सक्ने सम्भावना छ, जहाँ भोटरले कसलाई भोट दिने भनेर अहिलेदेखि नै सोच्ने स्थिति बनेको छ । पहिले जस्तो मेरो फलानो ठाउँको होल्ड भन्ने अवस्था अहिले रहेन । हातमा मोवाइल र मिडियाको पहुँचमा आम नागरिक भइसकेपछि सबैले दलका गतिविधि वाच गरिरहेका छन् । नेताले टिकट वितरण गरेको आधारमै पार्टीको नाममा भोट हाल्छन भन्ने विश्वास पालेर बसेका पुराना नेताहरूले नसोचेको परिणाम भोग्नुपर्ने देखिन्छ । अहिले आम मानिस आफ्नो विवेक लगाउन सक्ने स्थितिमा छ । जाँडरक्सी र पैसाले चुनाव जित्ने सम्भावना कम हुँदै गएका छन् । त्यो अहिले नै हट्न त सक्दैन तर त्यसरी चुनाव जित्ने सम्भावना कम देखिन्छ ।

साविकमा माओवादी केन्द्र र एकीकृत समाजवादीसहित १९ वटा पार्टी मिलाएर प्रचण्ड र माधवकुमार नेपालले नेपाली कम्युनिष्ट पार्टी बनाउनुभएको छ । यो पार्टीको उपस्थिति कस्तो होला ?
निर्वाचनमा कस्तो उम्मेदवार दिन्छन् भन्ने कुरामा धेरै भर पर्छ । हरेक पार्टीमा अधिकांश ‘टेस्टेड’ नेता आए भने उनीहरूलाई जनताले सकारात्मक रुपमा लिँदैनन् । युवालाई अगाडि सारेर जाँदा त्यसको प्रभाव राम्रो पर्छ । अहिलेको अवस्था हेर्दा कांग्रेस र एमालेभन्दा अलि बढी प्रयोगात्मक नेपाली कम्युनिष्ट पार्टी देखिन्छ ।

रवि लामिछानेको रास्वपा, कुलमान घिसिङको उज्यालो नेपाल पार्टी र हर्क साम्पाङको श्रम संस्कृति पार्टीको अवस्था के हुन्छ ?
रास्वपामा तीनवटा समूह मिल्दा निकै ठुलो हलचल ल्याउँछ भन्ने चर्चा थियो । ‘चार्म’ भएका युवा पनि रास्वपामा प्रवेश गर्छन भन्ने थियो । तर, रास्वपा अहिले अप्ठेरो स्थितिमा पुगेको छ । रविको मुद्दा फिर्ता लिने जुन कर्मकाण्डका कुरा भएका छन्, त्यसले महान्यायाधिवक्तालाई मात्र होइन, रवि लामिछानेलाई पनि राम्रो गर्छ जस्तो मलाई लाग्दैन । दोस्रो, कुलमान घिसिङ रास्वपाबाट निस्किए । त्यसले रास्वपा परसम्म जान सक्छ कि सक्दैन भन्ने प्रश्न खडा भएको छ । तेस्रो, बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर रास्वपा गएको छ । बालेन प्रधानमन्त्री बन्न लायक मान्छे हो कि होइन भन्ने कुराको बारेमा सामान्य मान्छेको बीचमा छलफल सुरू भइसकेको छ । किनभने, उहाँले जुन खालले बोल्नुहुन्छ, लेख्नुहुन्छ, त्यसले उहाँले समस्या क्रियट गर्नुहुन्छ कि भन्ने पनि छ । काठमाडौं महानगरपालिकाको मेयर हुँदा उहाँले जुन सर्वसाधारण मानिसहरूको जीविकामाथि लात हान्नुभएको छ । त्यसले उहाँको राजनीति भनेको धनाढ्यहरूको मात्रै राजनीति हो भन्ने स्थिति छ । त्यसलाई उहाँहरूले हल गर्ने तागत देखिएको छैन ।

कुलमान घिसिङको अवस्था के होला ?
कुलमान घिसिङले हतारमा रास्वपासँग पार्टी एकता गर्नुभयो । १२ दिनमै एकता भंग गरेर फेरि उज्यालो नेपाल पार्टीलाई अगाडि बढाएको स्थिति छ । कुलमानलाई अहिले संगठन व्यवस्थापन गर्न गाह्रै छ । कुलमानको प्रभाव रास्वपाको भन्दा बढ्ता नै हुन्छ कि भन्ने पनि लागेको थियो । तर, उहाँको फोर्स जसरी देशव्यापी रुपमा जानुपर्ने हो, त्यसरी जान सक्ने देखिएन ।

हर्क साम्पाङको नि ?
हर्क सम्पाङको पूर्वमा राम्रो देखिएको छ । तर, उहाँ जसरी उभिराख्नुभएको छ, त्यसले कहाँ पु¥याउँछ भन्ने प्रश्न छ । उहाँको हर्कवाद भयो । उहाँभन्दा सुप्रिम मान्छे कोही छैन त्यहाँभित्र । त्यहाँ छलफल र बहसको गुञ्जायस पनि देखिदैन । उहाँले माटोको, श्रमको नारा लगाउनुभएको छ । त्यसले वामपन्थी पार्टीको भोट काटिने सम्भावना छ । तर, उहाँले नीति, कार्यक्रम केही पनि ल्याउनुभएको छैन ।

रास्वपाबाट भावी प्रधानमन्त्रीको रुपमा अघि सारिएका बालेन शाह, केपी ओलीको निर्वाचन क्षेत्रबाट उठेका छन्, यसलाई कसरी लिनुभएको छ ?
त्यो भनेको बालेनको ‘स्टन्टवाजी’ हो । बालेन पनि लड्ने, हर्क पनि लड्ने भएपछि निर्वाचन जित्न केपी ओलीलाई सजिलो हुन्छ । नयाँ आउनुपर्छ भन्ने मत विभाजित हुने स्थितिमा ओलीलाई सहज बनाउनेबाहेक अरू काम गर्दैन । त्यसैले अहिले हल्ला गरे पनि अन्तिममा बालेन झापा नजान सक्छन ।

सामाजिक सञ्जाल र डिजिटल राजनीतिक अभियानले मतदाताको धारणा निर्माणमा कस्तो भूमिका खेल्छ ?
अहिले सबैको हातमा मोवाइल छ । सबै सामाजिक सञ्जालमा जोडिएका छन् । त्यसैले सामाजिक सञ्जाल र डिजिटल राजनीतिक अभियानले नयाँ खालको गति ल्याउँछ । डिजिटल माध्यमलाई सशक्त बनाउनका साथै त्यसको दुरुपयोग नहोस् भन्नेमा निर्वाचन आयोग र सरकारले ध्यान दिनुपर्छ । त्यसमा भएका गलत सामाग्रीलाई कन्ट्रोल गर्नका लागि साइबल कानुन पनि पर्याप्त छैन । निर्वाचन आयोगले कस्तो भूमिका निर्वाह गर्छ भन्ने कुरामा भर पर्छ ।

यो निर्वाचनमा मतदाताले ख्याल गर्नुपर्ने मुख्य विषय के हो ?
मतदाताले ख्याल गर्नुपर्ने विषय भनेको कार्यक्रममाथि हो । उम्मेदवारहरू ठुला ठुला कुरा गरेर आउँछन् । ससाना कुराहरू गर्न खोज्दैनन् । यो बारेमा मतदाताले ख्याल गर्नुपर्ने हुन्छ । हाम्रो आवश्यकता के हो भन्ने नै मुख्य विषय हो । गाउँमा खेतीपाती गर्नेका लागि सिंचाईको कुरा सबैभन्दा महत्वपूर्ण हुन्छ । अहिले बसाईंसराईको अवस्था एकदम विकराल बनेको छ । हिमाल र पहाडबाट तराई झर्ने, तराईबाट काठमाडौं जाने र काठमाडौंबाट विदेश जाने क्रम द्रुत गतिमा चलिरहेको छ । यस्तो हुन नदिनका लागि एकीकृत योजनाको कुरा कसले लिएर आउँछ ? यस्ता विषयप्रति कुन पार्टी र उम्मेदवार गम्भीर छ भन्ने कुरा मतदाताले हेर्नुपर्ने आवश्यकता हुन्छ । सस्तो लोकप्रियतामा मतदाता भुलिनु हुँदैन । ‘स्टन्टवाज’प्रति सचेत हुनुपर्छ ।

आर्थिक संकट, सुशासन र स्थायित्वको विषय निर्वाचनपछि आउने शक्तिले सम्बोधन गर्न सक्ने स्थित छ ? कुन पक्षले यो विषयलाई बढी सम्बोधन गर्न सक्छ ?
अहिलेसम्म जुन किसमको हाम्रो हेराई, बुझाइ छ, त्यसरी समस्याको समाधान आउँदैन । दलहरूको तर्फबाट आउने घोषणापत्र पञ्चवर्षीय योजनाजस्तै अघिल्लो वर्षको कपिपेस्ट गर्ने हो भने त्यसको अर्थ छैन । साँच्चै दलहरू देश र जनताप्रति गम्भीर हुने हो भने, देशको अर्थतन्त्र केलाउन जरुरी छ । हामी कहाँ चुकिराखेका छौँ भन्ने कुरा सबैभन्दा पहिला बुझ्नुपर्छ । बैंकमा पैसा थुप्रिएको छ । राष्ट्र बैंकले त्यसलाई तानेर राखेको छ । बजारबाट पैसा लगिराखेका छन् । तर, सामान्य मानिसको हातमा पैसा छैन । उनीहरूले लगानी गर्ने ठाउँ छैन । कुनै उद्यम गरौँ भन्ने कुराकानी छैन । सामान्य किसानलाई प्रोत्साहन गर्ने नीति छैन । कृषिसँग जोडिएको औद्योगिकीकरण छैन । देशमा रोजगारी छैन, सबैले वैदेशिक रोजगारीको कुरा गरेका छन् । इरानमा युद्ध भयो भने के हुन्छ भन्ने थाहा छैन । बहराइनमा बम खसाल्यो भने के हुन्छ भन्ने महसुस आम नागरिकले गर्न जरुरी छ । गाउँमा फर्किनुपर्ने स्थिति बन्यो भने कसरी सेटल गर्ने भन्ने कोणबाट सोच्नुपर्छ । यतिधेरै विकराल समस्या छन् । यो अवस्थाबाट मुक्ति दिलाउनका लागि पार्टीहरू साह्रै गम्भीर भएजस्तो लाग्दैन । यस्ता कुराहरूमा गम्भीर छलफल हुन जरुरी छ । एक ठाउँमा एकथोक, अर्को ठाउँमा अर्कोथोक भनेर हिड्ने कुरा पार्टीहरूलाई सुहाउदैन ।

फागुन २१ को निर्वाचनपछि संसद् वा सत्ता समीकरण कस्तो बन्ने सम्भावना देख्नुहुन्छ ?
आगामी निर्वाचनमा कुनै पनि पार्टीले बहुमत ल्याउने देखिँदैन । अहिलेको राजनीतिक अवस्था अत्यन्त तरल छ । अहिले बाहिर हेर्दा नेपाली कम्युनिष्ट पार्टी १८÷१९ वटा पार्टी मिलेर बनेको छ भन्ने कुराले एउटा खालको आशाको सञ्चार गरेको छ । अर्कोतिर, रवि र बालेन मिले भनेर सञ्चार भएको छ । कांग्रेस फुटे पनि युवा पुस्ताको हातमा नेतृत्व गयो भन्ने छ । जब कार्यकर्ता गाउँगाउँ गएर आफ्नो कुरा भन्न थाल्छन्, त्यसपछि एउटा माहोल खडा गर्न सक्छ । त्यसपछि मात्रै भावी परिणामबारे भन्न सकिन्छ ।

निर्वाचन प्रणालीका कारण कुनै एक दलले बहुमत ल्याउने देखिएन ?
एक त निर्वाचनको कारणले त्यो सम्भावना देखिएन । अर्कोतर्फ, कुनै पनि दलमा विश्वसनीयता देखिएन । जेनजी विद्रोहमा पुस्तान्तरणको कुरा थियो । ति पुस्ता सबै बाँडिने भए । आफ्नो बाउआमा जहाँ छन्, जेनजी त त्यहीँ जाने भए । त्यसकारण कोही एमाले, कोही नेपाली कम्युनिष्ट पार्टी, कोही कांग्रेस, कोही रास्वपा भएका छन् । उम्मेदवारहरू जनताको घरदैलोमा एजेण्डा लिएर गएपछि धेरै कुरा प्रष्ट हुन्छ ।

कांग्रेसमा भएको विद्रोहले नेपाली राजनीतिमा के सन्देश दिन्छ ?
कांग्रेसमा भएको नेतृत्व परिवर्तन युवा भर्सेस वृद्ध उमेर समूहबिचको लडाइँ हो । साथसाथै, यसले समाजको अर्थ–राजनीतिक रूपान्तरण र कायाकल्पमा पनि भूमिका खेल्नुपर्छ । तर, त्यस दिशामा नयाँ नेतृत्व जान सक्छ कि सक्दैन भन्ने कुरा महत्वपूर्ण हुन्छ । हाम्रो समाजले आर्थिक, सामाजिक रूपान्तरण पर्खिरहेको छ । तर, दलहरूले त्यसबारे खासै चासो दिएका छैनन् । कांग्रेसको नयाँ नेतृत्वले यसतर्फ केही योगदान दिन सक्यो भने त्यो सकारात्मक हुनेछ । अन्यथा, पात्र फेरिदैमा समस्याको समाधान हुँदैन । तर, कांग्रेसमा भएको लडाईंले अन्य पार्टीमा पनि रूपान्तरण र पुस्तान्तरणका लागि दबाब अवश्य पर्छ । बहुदलीय व्यवस्थामा दलको विकल्प दल नै हो । तर, दलहरूमा निरन्तर रुपान्तरण हुनुपर्छ । राजनीतिमा धरातलीय यथार्थ बुझ्न नसक्ने दल र नेता इतिहासको पानामा सीमित भएका उदाहरण धेरै छन् । राजनीति गर्नेहरूले यो यथार्थ भुल्नु हुँदैन । अन्तरपार्टी रूपान्तरण नै पार्टीहरू बलियो हुने औजार हो । यो कुरालाई सबै दलका नेता तथा कार्यकर्ताले मनन गर्नु उनीहरूकै लागि हितकर हुन्छ ।

प्रतिक्रिया दिनुहोस्