काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले अर्को निर्वाचनदेखि उम्मेदवार छनोट प्रक्रिया परिवर्तन हुने बताएका छन् ।

विशेष महाधिवेशनपछि निर्वाचन आयोगमा रहेको वैधानिकताको परीक्षण, अदालतभित्र विषयको प्रवेश र पार्टीका निवर्तमान सभापति लगायतका नेताहरूसँग हामीले गरिरहेको निरन्तर संवादको प्रयास लगायतका कारणले उम्मेदवार छनोटका लागि समय नपुगेको उनको भनाइ थियो ।
शुक्रवार पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि सानेपामा सम्बोधन गर्ने क्रममा उनले यस्तो जिकिर गरेका हुन् । ‘केही त्रुटि भएका छन् । कमजोरी भएका छन् । यसका लागि यो कुराको अप्ठेरोलाई बुझिदिनुहुन आग्रह गर्छु,’ थापाले भनेका छन् । सबै निर्वाचन क्षेत्रभित्र त्यहीँ उम्मेदवारी चयनको विषय टुंगिनुपर्ने मत आफूहरूले राख्दै आएको र त्यो कायमै भएको जिकिर गरे ।
‘हामी १६५ निर्वाचन क्षेत्रभित्र नै त्यही क्षेत्रभित्र उम्मेदवारी चयन गर्ने कुरा टुङ्गिनुपर्छ भन्ने मत राख्छौँ । त्यसका निम्ति विधानमा संशोधन पनि गरेका छौँ । अर्कोपटकदेखि कांग्रेसको उम्मेदवार यसरी चयन हुँदैन,’ थापाले भनेका छन्, ‘उम्मेदवार त्यहीँको पार्टीको सदस्यले मतदान गरेर तलै चयन गर्नुहुन्छ । यसपटक हामीसँग यो समयको सुविधा थिएन । प्राइमरी गर्ने भन्ने हाम्रो अवस्था थिएन ।’











