काठमाडौं । जेनजी आन्दोलनपछि फरार रहेका पाँच हजार कैदी कहाँ छन् भन्ने अझै टुंगो छैन । लागुऔषध कारोबारी, सुन तस्करी, कर्तव्य ज्यान मुद्दामा अपराधी, संगठित अपराधी तथा सुटरहरू समेतका अपराधीहरू कहाँ छन् भन्ने टुंगो छैन ।

उनीहरू जेलबाहिर हुँदा प्रतिनिधिसभा निर्वाचनमा साढे चार हजार फरार कैदीबन्दी बाधक हुन सक्ने आशंका गरिएको छ । विभिन्न अपराधको कसुरमा जेलजीवन बिताइरहेका १४ हजार पाँच सय ५५ कैदीबन्दी जेनजी आन्दोलनका क्रममा भदौ २४ गते फरार भएका थिए । तिनै कैदीबन्दी निर्वाचन बिथोल्न प्रयोग हुन सक्ने आशंका बढेको छ । यद्यपि, गृह मन्त्रालयले उनीहरूको खोजी गरिरहेको जनाएको छ ।
भागेका कैदीबन्दीमध्ये करिब पाँच हजारजना अझै सम्पर्कबाहिर छन् । फरार हुनेमा पाँच सयभन्दा बढी विदेशीसमेत रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ । विभिन्न कारागार, बन्दी÷सुधार गृह तथा हिरासत कक्षबाट भागेका कैदीबन्दीमध्ये १० हजार बढी सम्पर्कमा आइसकेका छन् ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक शशीधर घिमिरेले फरार कैदीबन्दीको सुरक्षा निकायले खोजतलास गरिरहेको बताए पनि उनीहरूको अवस्था भने अझै अज्ञात रहेको छ । ‘सुरक्षा निकायले खोजी गरिरहेको छ । फरार कैदीबन्दी पक्राउ गर्ने जिम्मेवारी सुरक्षा निकायको हो । सुरक्षा निकायले पक्राउ गरी कारागारलाई बुझाउने काम भइरहेको छ । अपराधीहरू सकेसम्म सुरक्षित हुन खोज्छन् तर प्रहरीले पक्राउ गरेर ल्याएको छ, उनीहरूको खोजतलासका लागि मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ’, घिमिरेले भने ।
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले पटक पटक देशभरका प्रहरी कार्यालयका प्रमुखहरूलाई कैदीबन्दी तथा थुनुवा खोजतलास गर्न निर्देशन दिएका छन् । उनले भर्चुअल बैठक गरी कैदीबन्दी र हतियार खोजतलास गर्न निर्देशन दिए पनि पक्राउ पर्न सकेका छैनन् ।
नेपाल प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अवनिनारायण काफ्लेका अनुसार १० हजार बढी कैदीबन्दी फिर्ता भएका छन् । तीमध्ये केहीलाई पक्राउ गरेर कारागारमा ल्याइएको हो । बाँकीलाई नियन्त्रणमा लिन प्रहरीले प्रदेश प्रहरी कार्यालयबाट फोकल पर्सन बनाएर परिचालन गरेको छ ।
गत असोज २६ मा कारागार व्यवस्थापन विभागले कैदीबन्दीको विवरण सार्वजनिक गर्दै खोजबिनमा सहयोग गर्न अपिल गरेको थियो । गृह मन्त्रालयले सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा तथा अन्य निकायका प्रतिनिधि रहने गरी सबै जिल्लामा ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरेको छ । जिल्ला कार्यदलले पनि प्रहरीलाई नै निर्देशन दिने भएकाले पक्राउ गर्ने, खोजी गर्ने जिम्मेवारी प्रहरीकै हो ।
जेनजी आन्दोलनको मौका छोपेर भदौ २४ गते केन्द्रीय कारागार, नक्खु कारागार, बाँके, रौतहट, सिन्धुली, चितवन, मकवानपुर, कपिलवस्तु, कास्की, तनहुँ, कैलाली, कञ्चनपुर, नवलपरासी, सुनसरी, दाङ, महोत्तरीसहितका २८ कारागार र नौ बालसुधार गृहबाट कैदीबन्दी फरार भएका थिए ।
जेनजी आन्दोलनका क्रममा तीन प्रहरी र १० कैदीबन्दीसहित ७६ जनाको ज्यान गएको थियो । प्रहरीका १२ सयभन्दा बढी हतियार, करिब एक लाख राउन्ड गोली पनि लुटपाट भएको थियो । करिब चार सय घातक हतियारबारे प्रहरी अझै बेखबर छ । लुटिएका हतियार र फरार कैदीबन्दीबाट सुरक्षा जोखिम उत्पन्न भएको स्वयं प्रहरीकै आन्तरिक प्रतिवेदनले जनाए पनि सबै कैदीबन्दी पक्राउ पर्न सकेका छैनन् ।
प्रहरीका अनुसार फरार रहेकामा जबर्जस्ती करणी, लागुऔषध, सुन तस्करी, मानव तस्करी, अपहरण तथा शरीर बन्धक, डकैती, हत्या (कर्तव्य ज्यान), चोरी, राजस्व चुहावट, विदेशी मुद्रा तस्करीलगायतका अभियोगी छन् । फरार कतिपय अपराधीहरू भने विदेश पुगिसकेको हुन सक्ने प्रहरीको आशंका छ । फरार विदेशी कैदीबन्दीलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलको पनि सहयोग मागिएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार चिनियाँ नागरिकहरू अझै फरार रहेका छन् । ६० किलो सुन तस्करी प्रकरणमा जोडिएका अधिकांश चिनियाँ तस्कर कारागारबाट भागेर फरार छन् । भदौ २४ गते राति कारागार तोडफोड तथा आगजनी गर्दै देशका विभिन्न कारागारबाट कैदीबन्दी फरार हुने क्रममा दावा छिरिङसहित सुन तस्करीमा जोडिएका चिनियाँ कैदी फरार भएका हुन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिकलाई ललितपुरस्थित नक्खु कारागार र सुनधारास्थित जग्गनाथदेवल (केन्द्रीय) कारागारमा राखिएको थियो । यी कारागारबाट १० चिनियाँ सुन तस्कर फरार छन् । फरार हुनेमा रोल्पाकी अमला रोकासँग विवाह गरेका चिनियाँ नागरिक दावा छिरिङ पनि छन् । उनै दावाले सुन तस्करीमा संलग्न रहेकाहरूलाई नेपालमा व्यवस्थापन गर्दै आएका थिए । यही सुन तस्करीमा जोडिएपछि २०८० भदौ १ मा चिनियाँ नागरिक एलेक्स भनिने याओ पुचेङ पनि पक्राउ परेका थिए । उनी पनि फरार छन् ।











