काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले असल नियतले गरिएको कामको जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन् । शुक्रबार सशस्त्र प्रहरीको २५ औँ स्थापना दिवस र रजत महोत्सवको अवसरमा हलचोकमा आयोजित समारोहमा बोल्दै गृहमन्त्री अर्यालले असल नियतले गरिएको कामको जिम्मेवारी राज्यले बहन गर्नुपर्ने बताएका हुन् ।

सशस्त्र प्रहरीलाई परेको समस्याको समाधान खोज्न गृह मन्त्रालय लागिपरेको बताउँदै अर्यालले भने, ‘सीमा सुरक्षा लगायत सशस्त्रले गर्ने सुरक्षाको सम्पूर्ण जिम्मेवारीमा बाधक होइन साधक बनेर कुनै पनि कुरालाई रचनात्मक साथ र सहयोग गरिरहेका छौँ ।’
सीमा सुरक्षाको लागी नयाँ बोर्डर आउट पोस्ट विस्तार र विद्यमान बीओपीको आधुनिकीकरण गर्नेतर्फ मन्त्रालयको ध्यान केन्द्रित रहेको उनले बताए । राष्ट्र निर्माण कुनै एक निकायको प्रयासबाट सम्भव नहुने उल्लेख गर्दै उनले भने, ‘सुरक्षा निकायको शक्ति केवल हतियारमा मात्र मात्र नभएर नैतिक इमानदारिता र बौद्धिकतामा हुन्छ ।’
सीमा नाका बासिन्दासँग सम्बन्ध प्रगाढ बनाउँदै सशस्त्रले सीमा सुरक्षालाई थप चुस्त बनाउने विश्वास आफूले लिएको मन्त्री अर्यालले बताए ।











