
काठमाडौं । सुनसरी क्षेत्र नम्बर १ को चुनावी सरगर्मीले यतिबेला राष्ट्रिय राजनीतिमै एक प्रकारको तरङ्ग पैदा गरेको छ । धरान उपमहानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएर सिधै प्रधानमन्त्री बन्ने लक्ष्यका साथ प्रतिनिधिसभाको यात्रामा निस्केका हर्क साम्पाङका लागि यो बाटो जति महत्त्वकाङ्क्षी देखिन्छ, त्यति नै चुनौतीपूर्ण पनि छ ।
एकातिर उनले भर्खरै स्थापना गरेको ‘श्रम संस्कृति पार्टी’ को साङ्गठनिक संरचना अझै बामे सर्दै छ भने अर्कोतिर उनलाई घेर्न परम्परागत शक्ति र नयाँ उदयमान दलहरूले बलियो मोर्चाबन्दी कसेका छन।
विशेष गरी धरान १७ का निवर्तमान वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) ले हर्कसँगको पुरानो कार्यपालिकाकालीन टकराबलाई चुनावी मैदानसम्म ल्याइपु¥याएका छन् । नेकपाका तर्फबाट उम्मेदवार बनेका भट्टराईले स्थानीय स्तरमा बनाएको आफ्नो छवि र हर्कको कार्यशैलीमाथि उठाउँदै आएका प्रश्नहरूलाई नै मुख्य चुनावी आधार बनाएको देखिन्छ ।
यस क्षेत्रको ऐतिहासिक गणितलाई फर्केर हेर्दा सुनसरी १ वामपन्थीहरूको बलियो किल्ला रहँदै आएको छ । २०४८ सालमा मनमोहन अधिकारीदेखि २०७९ मा अशोक राईसम्म आइपुग्दा त्यहाँ कम्युनिस्ट विचारधाराको दबदबा स्पष्ट देखिन्छ ।
यद्यपि, बदलिएको राजनीतिक परिस्थिति र ‘जेन–जी’ आन्दोलनले निम्त्याएको यो मध्यावधि जस्तो लाग्ने निर्वाचनमा पुराना आधारहरू हल्लिएका छन् । एमालेले अन्तिम समयमा उम्मेदवार परिवर्तन गर्दै टीका माङ्लेन लिम्बूलाई मैदानमा उतारेको छ । यसले पार्टीभित्रको आन्तरिक कलह र असन्तुष्टिलाई सतहमा ल्याएको छ ।
एमालेको यो विभाजित अवस्था हर्क साम्पाङ वा अन्य नयाँ उम्मेदवारका लागि अवसर बन्न सक्ने भए पनि एमालेको बलियो संगठन र अघिल्लो निर्वाचनको समानुपातिक मत (२०,०९८) लाई नजरअन्दाज गर्न सकिँदैन ।
हर्कका लागि सबैभन्दा ठूलो तगारो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसकी उम्मेदवार गोमा तामाङ बन्न सक्ने देखिन्छ । २०७९ को निर्वाचनमा झिनो मतान्तरले मात्र पराजित भएकी तामाङले यसपटक पनि उस्तै उर्जाका साथ मैदान ओगटेकी छन् ।
हर्क र गोमा दुवैको ‘पपुलिस्ट’ र ‘परिवर्तनकारी’ एजेण्डाले गर्दा युवा र स्वतन्त्र मत विभाजित हुने निश्चित छ ।
यदि यी दुई उम्मेदवारले एकअर्काको मत काटे भने त्यसको प्रत्यक्ष लाभ नेपाली कांग्रेसका सुजेन्द्र तामाङलाई पुग्न सक्छ, जो आफ्नो पार्टीको स्थिर मत र क्षेत्रीय सभापतिको साङ्गठनिक पकडमा ढुक्क देखिन्छन् । सुदन किराँतीले हर्कलाई समर्थन गर्ने घोषणा गरे पनि त्यसले चुनावी परिणाममा कति निर्णायक भूमिका खेल्छ भन्ने कुरा मतदानकै दिन स्पष्ट हुनेछ, किनकि यस क्षेत्रमा किराँती आबद्ध दलको प्रभाव तुलनात्मक रूपमा सीमित छ ।
भौगोलिक र साङ्गठनिक आधारमा विश्लेषण गर्दा धरान उपमहानगरपालिका हर्कको मुख्य शक्ति केन्द्र भए तापनि सुनसरी १ भित्र पर्ने बराहक्षेत्र र रामधुनीका वडाहरूमा उनको प्रभाव अझै परीक्षण हुन बाँकी छ । ती क्षेत्रमा कांग्रेस र एमालेको परम्परागत पकड बलियो छ ।
स्थानीय तहको निर्वाचनमा हर्कले धरानमा ४ हजार ७ सय ६२ को अग्रता लिए पनि प्रतिनिधिसभाको बृहत्तर भूगोल र रास्वपाको बढ्दो उपस्थितिले त्यो अग्रतालाई जोगाउन हम्मेहम्मे पर्ने देखिन्छ ।
कुल २६ उम्मेदवारहरूको भीडमा मुख्य प्रतिस्पर्धा एमाले, रास्वपा, कांग्रेस, नेकपा र श्रम संस्कृति पार्टीबीच नै हुने देखिन्छ । अन्ततः यो निर्वाचन हर्कको व्यक्तिगत लोकप्रियता, एमालेको साङ्गठनिक विरासत र रास्वपाको नयाँ लहरबीचको त्रिकोणात्मक भिडन्त हुने देखिन्छ, जहाँ सानो मतान्तरले मात्रै विजेताको फैसला गर्ने सम्भावना प्रबल छ ।











