Logo
Logo

खुल्दैछ भाटभटेनी: खरानीबाट बौरिँदै गरेको एउटा अदम्य साहस


819
Shares

काठमाडौं । जब जेनजी आन्दोलनको रापले देश अशान्त बनेको थियो, सडकमा उठेको आक्रोशको ज्वाला र धुवाँको मुस्लोले सहरको आकाश ढाकेको थियो- त्यही उथलपुथलबीच एउटा कुनामा उभिएर मीनबहादुर गुरुङ आँखा रसाएका र मनभरि प्रार्थना बोकेर ईश्वरलाई पुकारिरहेका थिए।

उनको एकमात्र कामना थियो- “शान्तिको यो देशमा यस्तो विपत्ति फेरि कहिल्यै नदोहोरियोस्।” तर नियतिले उनलाई नै सबैभन्दा कठोर परीक्षाको सामु उभ्यायो। र, जस्तोसुकै परिस्थितिको सामना गर्न सक्ने साहसी व्यवसायी गुरुङ फेरि एकपटक संकटको भुमरीबाट उठ्दै साहसको प्रतीक बनेर अगाडि आएका छन्।

नेपाल र नेपालीको समृद्धिप्रति अटुट आस्था राख्ने व्यवसायी गुरुङका लागि भदौ २३ र २४ गतेको त्यो विद्रोही समय कहिल्यै नमेटिने घाउ बन्यो। नक्सालस्थित केन्द्रीय कार्यालयदेखि देशभरका २१ वटा स्टोरमा भएको आगजनी र लुटपाटले अर्बौँ रुपैयाँ बराबरको भौतिक संरचना खरानी मात्र भएन, दशकौँको पसिना, मेहनत र विश्वासलाई पनि एकै झट्कामा ध्वस्त पारिदियो। त्यो क्षति केवल व्यावसायिक थिएन, त्यो एउटा उद्यमीको सपना र मूल्यप्रतिको निर्मम प्रहार थियो ।

यति ठूलो संकटमा जो कोही पनि विचलित हुन सक्थ्यो । तर मीनबहादुर गुरुङले मानवीय संवेदनाको अनुपम उदाहरण प्रस्तुत गरे । गहिरो आर्थिक मन्दी र अकल्पनीय क्षतिको बीचमा पनि उनले आफ्ना १० हजार कर्मचारीमध्ये एकजनालाई पनि बिदाइ गरेनन् । बरु, गत दशैँमा अग्रिम पेस्की वितरण गर्दै उनले व्यापार नाफाको गणित मात्र होइन, हजारौँ परिवारको भविष्यसँग गाँसिएको सामाजिक जिम्मेवारी पनि हो भन्ने सन्देश दिए ।

विद्रोहले भत्काएका संरचनाहरू पुनः ठड्याउने पुनर्जागरणको शंखघोष गर्दै उनी अहिले अहोरात्र खटिएका छन् । केही महिनाअघि बालुवाटारस्थित ‘वेयरहाउस’ पुनर्निर्माण सम्पन्न भएपछि आज कोटेश्वर स्टोरमा भागवत पाठ तथा लक्षवर्तिका दीप प्रज्वलन गरिएको छ।

यो केवल धार्मिक अनुष्ठान मात्र थिएन । भत्काइएका सपनाहरू पुनः उठ्ने आशा र साहसको प्रतीक थियो। ती दीपका शिखाहरूले अँध्यारोबीच उज्यालोको सन्देश फैलाइरहेका थिए ।

भाटभटेनीका कार्यकारी प्रमुख पानु पौडेलका अनुसार, कोटेश्वर स्टोरको करिब आधा भाग पुनर्निर्माण भइसकेको छ र यही माघ २८ गतेदेखि स्टोर पुनः ग्राहक सेवामा सञ्चालनमा आउनेछ ।

मीनबहादुर गुरुङको अदम्य साहस, धैर्य र लगनशीलताका कारण जेन–जी विद्रोहमा ध्वस्त बनेका भाटभटेनी स्टोरहरू क्रमशः पुनर्निर्माण हुँदै पुनः सञ्चालनमा आउँदैछन् ।

उनको यो दृढताले भाटभटेनी समूहलाई मात्र होइन, सम्पूर्ण नेपाली व्यवसायिक क्षेत्रलाई नै आशा र प्रेरणाको सन्देश दिएको छ । संकटका घडीमा देखाएको यो नेतृत्व क्षमताका लागि अन्य व्यवसायी र आम ग्राहकहरूले पनि उनको साहसलाई उच्च सम्मानका साथ स्मरण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्