
काठमाडौं। जेनजी विद्रोहपछि काठमाडौं महानगरबाट राजिनामा दिएका मेयर बालेन शाह माघ ६ गते झापा हानिए । उनी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनमा झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चुनावी मैदानमा छन् । एमालेको गढ मानिने उक्त क्षेत्रमा बालेनले के ‘लाल किल्ला’ भत्काउलान् ? त्यो भने हेर्न बाँकी नै छ ।
उता, सर्लाही ४ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । कांग्रेस सभापति गगनकुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंह चुनावी मैदानमा छन् ? अमरेशकुमार स्वतन्त्र उम्मेदवार बनेर चुनाव जितेको उक्त क्षेत्रमा गगनलाई जित हासिल गर्न त्यति सजिलो छैन । तर, राजनीतिका चतुर खेलाडी गगनले नयाँ रणनीति अपनाएर चुनाव नजित्लान भन्न पनि सकिने अवस्था छैन ।
पूर्वतिरको चहलपहल झनै बाक्लो छ । हर्क साम्पाङ धरान उपमहानगरको मेयर पद छाडेर जसरी पनि प्रधानमन्त्री बन्ने लोभमा छन् । तर, उनी एक्लैले चुनाव जितेर प्रधानमन्त्री बन्न त्यति सजिलो छैन । प्रधानमन्त्री बन्नका लागि कि त बहुमत कि दलीय गठबन्धनको खाँचो । त्यसो त हर्क आफैले पनि भनिरहेका छन् कि कुनै दलसँग साँठगाँठ हुँदैन । खै्रर हर्कको बाँकी यात्रा निर्वाचनले नै तय गर्नेछ । रास्वपासँग लगनगाँठो कसेर १२ दिनमात्र बिताएका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको पनि सानो लोभ छैन । तर, उनलाई पहिलो गाँसमै ढुंगा परिसकेको छ । उनको साथ छाड्नेहरुको लर्काे छ । यस्तो अवस्थामा उनको प्रधानमन्त्री बन्ने सपनाभन्दा पनि निर्वाचन जित्नै मुस्किल देखिन्छ ।
कागले कान लग्यो भन्दैमा कान नछाम्ने केवल दगुर्दामात्र प्रधानमन्त्री भइएला त ? निर्वाचन जित्नु कहिले र प्रधानमन्त्रीको उम्मेदवार बन्नु कहिले । तर, अहिले नै उम्मेदवारहरु आफू प्रधानमन्त्री भइसकेको दिवास्वप्न देखिसकेका छन् । आजको अन्तरदृष्टिमा भावी प्रधानमन्त्रीको दौडमा रहेकाहरूको निर्वाचन क्षेत्र र उनीहरूले जित्ने सम्भावना कति छ त ? बाँकी भिडिओमा हेरौं ।











