काठमाडौं । भाट–भटेनी सुपरमार्केटले जेनजी आन्दोलनका क्रममा आगलागीबाट क्षतिग्रस्त भएका आफ्ना स्टोरहरूमध्ये पहिलो चरणमा कोटेश्वर सुपर स्टोर पुनः सञ्चालनमा ल्याउने भएको छ ।

आगामी शनिबारदेखि कोटेश्वरस्थित सुपर स्टोर औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको हो । आगलागीपछि तीव्र पुनर्निर्माण गर्दै स्टोर सञ्चालनमा ल्याइनु कम्पनीको सेवाप्रतिको प्रतिबद्धता र समुदायप्रतिको उत्तरदायित्वको उदाहरण भएको जनाएको छ ।
भाट–भटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले हालैको घटनाबाट प्रभावित भए पनि कर्मचारी, ग्राहक तथा सरोकारवालाहरूको सहयोग र विश्वासका कारण कम्पनी छिटो पुनःउत्थानको मार्गमा अघि बढ्न सफल भएको बताए । उनका अनुसार कोटेश्वर स्टोरको पुनः सञ्चालनसँगै आगलागीबाट क्षतिग्रस्त अन्य स्टोरहरू पनि चरणबद्ध रूपमा सञ्चालनमा ल्याइनेछ ।
यस कठिन समयमा साथ, सहयोग र धैर्यताका लागि भाट–भटेनी सुपरमार्केटले सम्पूर्ण ग्राहक, स्थानीय समुदाय, सुरक्षा निकाय तथा सरोकारवालाहरूलाई धन्यवाद दिएको छ ।
भविष्यमा पनि गुणस्तरीय सेवा, उचित मूल्य र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै निरन्तर सेवा प्रदान गर्ने प्रतिबद्धता भाट–भटेनीले दोहोर्याएको छ ।











