काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन तोकिएकै मितिमा एकै चरणमा हुनेमा सर्वसाधारण ढुक्क र निश्चिन्त रहन आग्रह गरेकी छन्।

बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेस अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निर्वाचनको प्रक्रियामा कुनै ढिलाइ नहुने विश्वास व्यक्त गरिन्। उनका अनुसार मौसम अनुकूल रहे सबै मतदाताले निर्बाध मतदान गर्न पाउनेछन् ।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘ढुक्क र निश्चिन्त हुनुस्, एकै दिनमा चुनाव हुनेछ । दुई चरणमा हुँदैन । तोकिएकै मितिमा मतदान सम्पन्न हुन्छ। मलाई विश्वास छ मौसम पनि अनुकूल हुनेछ। हामी सबैले मतदान गर्नेछौँ। निर्वाचित प्रतिनिधि सभालाई सरकार हस्तान्तरण गरी आफ्नो घर फर्कनेछौँ।’
केही दिनअघि पूर्वी नवलपरासीको हात्तिखोरस्थित नेपाली सेनाको ब्यारेकमा आयोजित विद्यार्थी तालिम समापन समारोहमा पुगेकी प्रधानमन्त्री कार्कीले हिमाली जिल्लामा अत्यधिक चिसो बढेमा मात्र निर्वाचन दोस्रो चरणमा सारिने सम्भावना रहेको संकेत गरेकी थिइन्।











