काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप्ने निर्णय गरेको छ ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले तेस्रो पटक आयोगको समयावधि थप गर्ने निर्णय गरेको हो ।
यसअघि दोस्रो पटक थपिएको आयोगको म्याद माघ २८ गते सकिँदैछ । म्याद थपसम्बन्धी निर्णयबारे जानकारी दिँदै नेपाल सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न गठित आयोगको समयावधि २५ दिन थप गर्ने निर्णय गरिएको बताए ।
सरकारले २०८२ असोज ५ गते जेनजी आन्दोलनका क्रममा भएको क्षतिको छानबिन गर्न विशेष अदालतका पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।
तीन महिनाको कार्यादेशसहित गठित आयोगले तोकिएको अवधिमा काम सम्पन्न गर्न नसकेपछि पुस ८ गते बसेको मन्त्रिपरिषद् बैठकले एक महिनाका लागि म्याद थप गरेको थियो । त्यसपछि माघ ८ गते पुनः २० दिन म्याद थप गरिए पनि प्रतिवेदन पेस हुन नसकेपछि सरकारले तेस्रो पटक २५ दिन म्याद थप गरेको हो ।











