
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक भाष्य एउटै घेराभित्र घुमिरहेछ– आगो लगाउने, अराजक तत्व, षड्यन्त्र र झुटा आरोप । सतहमा हेर्दा यो उनको चुनावी आक्रामकताजस्तो देखिए पनि गहिरिएर विश्लेषण गर्दा स्पष्ट राजनीतिक भय देखिन्छ । त्यो हो जेन–जी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन ।
ओली सत्ताको बागडोरमा हुँदा गत भदौ २३ गते सुरक्षाकर्मीको गोली लागेर १९ जना युवाको ज्यान गएको थियो । उक्त घटनाको राप र तापले आगामी निर्वाचनमा आफू र पार्टीको भविष्यमा ‘कालो बादल’ मडारिने त होइन भन्ने चिन्ताले ओलीलाई सताइरहेको छ । भदौ २४ गते उनले राजीनामा दिएपनि उक्त घटनाको राजनीतिक, नैतिक र कानुनी भार भने अझै ओझेल पर्न सकेको छैन ।
यही कारण निर्वाचनअघि आयोगको प्रतिवेदन सार्वजनिक भएमा त्यसले आफू र आफ्नो दललाई प्रतिकूल असर पार्ने ओलीको आँकलन छ । यही भयका कारण ओलीले पछिल्ला सार्वजनिक अभिव्यक्तिहरूमा आफूलाई निर्दोष सावित गर्न र घटनाको दोष ‘अराजक तत्व’माथि थोपर्ने प्रयास गरिरहेका छन् । झापादेखि काठमाडौंसम्मका सभासम्बोधनमा ओलीले घटनाको जिम्मेवारी स्वीकार गर्नुको सट्टा उल्टै आफूविरुद्ध ‘घृणित लाञ्छना’ लगाइएको दाबी गर्दै आएका छन् ।
माघ २२ गते झापामा उनले ‘आगो लगाउने र मार्नेहरूले उल्टै आफूलाई हत्यारा बनाउने प्रयास गरेको’ आरोप लगाएका थिए । उपद्रव मच्चाएर योजनाबद्ध ढंगले आगजनी र हत्या गरियो र त्यसको दोष नेतृत्वमाथि थोपर्न खोजिएको उनको दाबी छ ।
बाँकी भिडिओ रिपोर्टमा–











