Logo
Logo

भारतबाट निर्वाचन तयारीमा नेपाललाई तेस्रो खेप सहयोग


756
Shares

काठमाडौं। भारत सरकारले नेपाललाई निर्वाचन तयारीका लागि प्रदान गरेको सहयोगको तेस्रो खेप बिहीबार हस्तान्तरण गरेको छ।

काठमाडौंस्थित गृह मन्त्रालयमा आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त सहयोग औपचारिक रूपमा गृहमन्त्री ओमप्रकाश अर्याललाई हस्तान्तरण गरे।

तीस्रो खेप अन्तर्गत नेपाली सेनाका लागि ५० वटा ट्रकसहित २७० भन्दा बढी सवारीसाधन र अन्य आवश्यक सामग्रीहरू समावेश छन्। यस सहयोग नेपालले आगामी निर्वाचनको तयारीका लागि व्यक्त गरेको आवश्यकता अनुसार प्रदान गरिएको हो। नेपाली सेनाका लागि प्रदान गरिएका ट्रकहरू प्रधान सेनापति महारथी अशोक राज सिग्देलले राजदूत श्रीवास्तवबाट ग्रहण गरे।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै गृहमन्त्री अर्यालले समयमै उपलब्ध गराएको महत्वपूर्ण सहयोगका लागि भारतीय पक्षप्रति धन्यवाद ज्ञापन गरे। उनले नेपाल–भारत सम्बन्ध आपसी विश्वास, मित्रता र लोकतान्त्रिक मूल्य–मान्यताप्रतिको साझा प्रतिबद्धतामा आधारित रहेको उल्लेख गर्दै द्विपक्षीय सहकार्यको प्रशंसा गरे।

यसअघि भारत सरकारले निर्वाचन सहयोगको पहिलो र दोस्रो खेप क्रमशः २०८२ माघ ६ र माघ १५ गते हस्तान्तरण गरिसकेको थियो। ती खेपमा ३१० भन्दा बढी सवारीसाधन र अन्य सामग्रीहरू समावेश थिए। थप सहयोग आगामी दिनहरूमा विभिन्न ब्याचमा उपलब्ध गराइने अपेक्षा गरिएको छ।

भारतीय पक्षबाट भइरहेको यो सहयोगलाई दुई देशबीचको बहुआयामिक विकास साझेदारीको निरन्तरता र जनस्तरको आपसी विश्वास तथा मित्रताको प्रतीकका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्