काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैङ्कका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनलाई उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

उच्च अदालतको वाणिज्य इजलासले बैङ्क तथा वित्तीय संस्थाको रकम हिनामिना तथा प्रक्रियाविपरीत ऋण प्रवाहसम्बन्धी अभियोगको प्रारम्भिक प्रमाण पर्याप्त देखिएको निष्कर्ष निकाल्दै शेरचनलाई थुनामा राखेर मुद्दाको थप सुनुवाइ अघि बढाउन मङ्गलवार आदेश दिएको हो ।
न्यायाधीश गणेशप्रसाद बराल र राजुकुमार खतिवडाको संयुक्त इजलासले गरेको आदेशमा प्रतिवादी शेरचनविरुद्ध प्रस्तुत भएका कागजात, नेपाल राष्ट्र बैङ्कको निरीक्षण प्रतिवेदन, प्रहरी अनुसन्धान र अन्य प्रमाणको अध्ययनपछि आरोप गम्भीर प्रकृतिको देखिएको उल्लेख छ ।
अदालतले शेरचनले प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारीमा रहँदा सञ्चालक समितिको पूर्वस्वीकृतिबिनै गुण एयरलाइन्सलाई १५ करोड रुपैयाँ ऋण प्रवाह गरेको स्वीकार गरेको र विप्रेषण (रेमिट्यान्स) अग्रिम रकमबाट प्राप्त हुनुपर्ने करिब ८ करोड ९३ लाख रुपैयाँभन्दा बढी ब्याज बैङ्कमा प्राप्त नभएको विषय पनि अभियोगको आधार बाएको हो ।
आदेशमा बैङ्कका कर्मचारीहरूको बयान, घटना विवरण कागजात र नियामक निकायको प्रतिवेदनबाट ऋण स्वीकृति प्रक्रिया पूरा नगरी ऋण प्रवाह भएको तथ्य समर्थन भएको उल्लेख गरिएको छ ।
अदालतले प्रारम्भिक रूपमा प्रतिवादीको भूमिका र जिम्मेवारीलाई नजरअन्दाज गर्न नसकिने भन्दै उनीविरुद्धको अभियोगलाई बल पुग्ने पर्याप्त आधार रहेको ठहर गरेको छ ।
अदालतले भनेको छ, “मिसिल संलग्न तत्काल प्राप्त प्रमाणहरूको आधारमा प्रतिवादी निर्दोष रहेको भन्ने अवस्था देखिँदैन ।” सोही आधारमा मुलुकी फौजदारी कार्यविधि संहिताअनुसार शेरचनलाई थुनामा राखी पुर्पक्ष गर्न सम्बन्धित कारागारमा पठाउन आदेश गरिएको हो ।













