काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले रुकुम पूर्वमा आज ३१औँ जनयुद्ध दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्दै दिवस मनाउने भएको छ ।

जनयुद्धको सुरुआत भएको स्थल रुकुम पूर्वमा सहिद तथा बेपत्ता परिवार, घाइते, अपाङ्ग र स्थानीयबासीसँग संयुक्त रूपमा दिवस मनाउन नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड बिहीबार नै रुकुम पूर्व पुगेका छन् । विस २०५२ फागुन १ गते तत्कालीन नेकपा (माओवादी) ले सुरु गरेको जनयुद्ध दस वर्षसम्म चलेको थियो । जनयुद्धका प्रमुख नेता प्रचण्डले पहिलो पटक रुकुम पूर्वमा जनयुद्ध दिवस मनाउँदै छन् ।
भूमे गाउँपालिका-२, खाबाङ बगरमा आज आयोजना हुने जनयुद्ध दिवस कार्यक्रममा नेकपा संयोजक प्रचण्डले सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । रुकुम पूर्वमा २५२ जना सहिद रहेका छन् ।
राजतन्त्रको अन्त्य र नयाँ जनवादी व्यवस्था कायम गर्ने उद्देश्यसहित तत्कालीन नेकपा (माओवादी) ले २०५२ फागुन १ गते जनयुद्धको सुरुआत गरेको थियो । रुकुमको आठबीसकोट प्रहरी चौकी, रोल्पाको होलरी प्रहरी चौकी, सिन्धुलीको सिन्धुलीगढी प्रहरी चौकी तथा गोरखाको च्याङ्लीस्थित कृषि विकास बैङ्कमा आक्रमण गरी माओवादीले जनयुद्ध सुरु गरेको थियो । जनयुद्ध अगाडि बढाउन तत्कालीन माओवादीले रुकुम पूर्व, रुकुम (पश्चिम र पूर्वी) र रोल्पालगायतका जिल्लालाई आधार इलाका बनाएको थियो ।
विस २०६१ माघमा रुकुमको लाबाङमा बसेको माओवादी पोलिटब्युरो बैठकले डा।बाबुराम भट्टराईलाई पार्टीबाट कारबाही गरेको थियो । २०६२ असोजमा रुकुमको चुनबाङमा बसेको तत्कालीन नेकपा (माओवादी0को केन्द्रीय समिति बैठकले लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा पारित गर्दै शान्तिपूर्ण राजनीतिक यात्राको मार्ग तय गरेको थियो ।
चुनबाङ बैठकको निर्णय कार्यान्वयनका क्रममा सात राजनीतिक दलबीच १२ बुँदे सहमति भएको थियो । उक्त सहमतिअनुसार जनयुद्ध र जनआन्दोलनको संयोजनबाट राजतन्त्रको अन्त्य भई गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक प्रणाली स्थापना भएको हो ।
जनयुद्ध दिवस मनाउनुअघि संयोजक प्रचण्डले छापामारले प्रहरी नायब उपरीक्षक ठूले राईलाई नियन्त्रणमा लिएको महत गाउँ र डा। बाबुराम भट्टराईलाई कारबाही गर्ने निर्णय गरिएको लाबाङ गाउँको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।











