काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न उनका समर्थकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर पुगेका छन् । उनीहरू विभिन्न नारा लगाउँदै पूर्वराजाको आगमनको प्रतीक्षा गरिरहेका छन् ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईँ पनि विमानस्थल पुगेका छन् । समर्थकहरूलाई बाहिर राखेर उनी भित्र प्रवेश गरेका छन् । उनले पूर्वराजा शाहलाई लिएर आउने बताएका छन् । पूर्वराजा शाह झापाबाट काठमाडौं आइरहेका छन् ।
उनको आगमनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्मल निवाससम्म कडा सुरक्षा व्यवस्था मिलाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सुरक्षा व्यवस्था मजबुत बनाइएको छ ।
काठमाडौंका चोक–चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।












