Logo
Logo

पशुपति क्षेत्रमा ६ हजार सुरक्षाकर्मी परिचालन


315
Shares

काठमाडौं । पशुपतिनाथ मन्दिरमा आज महाशिवरात्रि पर्व मनाइँदै छ । पशुपति क्षेत्र विकाश कोषले महाशिवरात्रिको अवसरमा पशुपति मन्दिर दर्शन गर्न करिब ७ लाख दर्शनार्थी आउने आकलन गरेको छ ।

ठुलो सङ्ख्यामा दर्शनार्थी सहभागी हुने भएपछि दर्शन सहज बनाउन बिहानैदेखि चार वटै ढोका खुला गरिएको छ । त्यस्तै पशुपति क्षेत्रमा स्थानीय प्रशासनले सुरक्षा योजना बनाएर सुरक्षाकर्मी परिचालन गरेको छ । जिल्ला सुरक्षा समितिबाट निर्णय गरेर सुरक्षा योजना लागु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले जानकारी दिए ।

पशुपति मन्दिर परिसरमा प्रहरीले कमान्ड पोस्ट बनाएको छ । बालबालिका हराउने, चोरी, डकैती र अन्य उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न कमान्ड पोस्टमा परिसर काठमाडौंका एसपी पवन भट्टराई खटिनेछन् । पशुपति क्षेत्रको सुरक्षामा ३ हजार ७ सय प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना लागु गरिएको छ । निर्वाचन प्रहरीलाई पनि सुरक्षामा परिचालन गरिएको छ ।

नेपाल प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी र महानगर प्रहरी सहित करिब ६ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । शनिबार पशुपति क्षेत्रमा गएर गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेल सहितका अधिकारीहरुले सुरक्षा तयारीबारे जानकारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्