काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवम् झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाह (बालेन)ले काठमाडौंको फोहोर व्यवस्थापनमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बताएका छन् ।

काठमाडौं महानगरको निवर्तमान मेयरसमेत रहेका बालेनले सोमबार बिहान झापा ५ का मतदातासँगको संवादमा फोहोर व्यवस्थापन र सुकुम्वासी समस्यामा समाधानमा ठूलो अन्तर्राष्ट्रिय चलखेल हुने गरेको दाबी गरेका हुन् ।
निर्वाचन प्रचारको घरदैलो कार्यक्रमकाबीच उनले भने, ‘काठमाडौं महानगरमा कुन हदसम्मको अन्तर्राष्ट्रिय चलखेल थियो भनेर तपाईँले कल्पना पनि गर्न सक्नुहुन्न । महानगरको नेतृत्व गर्नु र प्रधानमन्त्री हुनुभन्दा कम चुनौतीको कुरा होइन ।’
उनले काठमाडौंको राजनीतिमा बाह्य शक्तिहरूको अदृश्य दबाब रहने गरेको पनि बताए । सुकुम्वासी व्यवस्थापनमा आफूले त्यो अनुभूति गरेको बताउँदै बालेनले भने, ‘काठमाडौंका सुकुम्वासी बस्तीमा बस्ने धेरै त वास्तविक सुकुम्वासी नभई राजनीतिक दलहरूद्वारा संरक्षित र परिचालित मान्छे हुन् ।’
उनले सुकुम्वासीलाई लालपुर्जा दिलाउने र व्यवस्थित गर्ने कार्यमा महानगरले भूमि आयोगसँग तीन महिनाअघि नै सम्झौता गरिसकेको भए पनि राजनीतिक कारण त्यो हनु नसकेको बताए ।











