काठमाडौँ । रवि लामिछाने विरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा तत्काल फिर्ता नहुने भएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नितिश राईको इजलासले सोमबार सरकारी वकिल कार्यालयले पेस गरेको मुद्दा संशोधनसम्बन्धी निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो । महान्यायाधिवक्ताको कार्यालयको मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेकाले तत्काल फिर्ता गर्न नमिल्ने अदालतले जनाएको छ।
अदालतले सर्वोच्चबाट हुने आदेश जिल्ला अदालतमा पेस भएपछि मात्र मुद्दा फिर्ताबारे निर्णय हुने स्पष्ट पारेको छ। यसअघि रूपन्देही जिल्ला अदालतले पनि लामिछानेविरुद्धको मुद्दा तत्काल फिर्ता नगर्ने निर्णय गरेको थियो ।
महान्यायाधिवक्ताको कार्यालयले गत पुस ३० गते संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा फिर्ताका लागि निवेदन दिएको थियो ।
लामिछानेविरुद्ध कास्की, काठमाडौं, चितवन र रूपन्देही जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएका छन् ।












