काठमाडौं । निर्वाचन बहिष्कार गरेको धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतले आज नेपाल बन्दको घोषणा गरेको छ । पार्टीले जारी गरेको विज्ञप्तिमा सर्वपक्षीय सरकार गठनको मागसहित नेपाल बन्दको घोषणा गरिएको छ ।

पार्टीले नेपाल बन्द गर्नुको अन्य कारणहरूमा जनसंविधान निर्माण, भ्रष्टाचार र कालोबजारी अन्त्य, युवाहरूलाई स्वदेशमै रोकेर रोजगारीको सिर्जना, भूमिहीनहरूलाई जमिनको व्यवस्था, शिक्षा, स्वास्थ्य र यातायात निःशुल्क गर्नलगायतका कारण नेपाल बन्दको घोषणा गरिएको पार्टीले जनाएको छ । बन्दको प्रभाव सामान्य देखिएको छ ।
यसैबीच मकवानपुर, भैरहवा र झापामा बिहानै शङ्कास्पद बस्तु भेटिएका छन् । ती शङ्कास्पद बस्तु सेनाले परीक्षण गरेपछि कुनै पनि विष्फोटक पदार्थ नभएको भेटिएको छ ।
आज बिहान हेटौँडास्थित चिसापानी चोकमा बम जस्तो देखिने शङ्कास्पद बस्तु भेटिएको थियो । तर परीक्षण गर्दा कार्टुनमा फोहोर हालेको पाइएको हो ।
झापाको शिवसताक्षीस्थित कन्काई पुलमा पनि पराललाई डल्लो बनाएर तारले बेरेको र बाहिरी भागमा ’नेपाल बन्द होसियार’ लेखिएको कागज राखी ढुङ्गाले थिचेर पुलको बिच भागमा राखिएको अवस्थामा राखिएको थियो ।
नेपाली सेनाको बम डिस्पोजल टोलीले घटनास्थलमा पुगेर जाँच गर्दा त्यहाँ कुनै पनि विष्फोटक पदार्थ नरहेको पाइएको हो । उक्त वस्तु बम भएको आशङ्कामा बिहानैदेखि पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन रोकिएकामा अहिले भने राजमार्ग पुनः सञ्चालनमा आइसकेको छ ।
बन्दको क्रममा भैरहवाको लुम्बिनी गेट नजिकै शङ्कास्पद वस्तु फेला परेको थियो । बोराभित्र राखिएको र बाहिर कागजमा नेपाल बन्द सफल पारौँ लेखेको हुँदा शङ्कास्पद वस्तु देखिएपछि केही समय उक्त सडक खण्डमा सवारी आवागमन बन्द भएको थियो ।
नेपाली सेनाको टोलीले डिस्पोज गर्दा क्यान बियरको बोतलभित्र माटो र ढुङ्गा राखेर सर्वसाधारणलाई तर्साउन खोजिएको पाइएको रुपन्देही प्रहरीले बताएको छ ।












