काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराई मधेस द्रुतमार्गको खोकना प्रस्थानविन्दु विवादलाई पछि राखेर वैकल्पिक योजना तयार गरी अघि बढाउन निर्देशन दिएकी छन् ।

स्थानीय समुदायले धार्मिक तथा सांस्कृतिक सम्पदामा असर पर्ने भन्दै खोकनामा द्रुतमार्गको सुरुवातबिन्दुमा चासो व्यक्त गरेपछि प्रधानमन्त्री कार्कीले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा वैकल्पिक योजनामा काम अघि बढाउन निर्देशन दिएकी हुन्।
प्रधानमन्त्री कार्कीले गत माघ १३ गते पनि निर्माणाधीन द्रुतमार्गको निरीक्षण भ्रमण गरेकी थिइन्। त्यहाँ उनले विकास निर्माण गर्दा स्थानीय सरोकारलाई गम्भीरतापूर्वक लिनुपर्ने र सुरुबिन्दु परिवर्तन गरेर भए पनि राष्ट्रिय गौरवको आयोजना छिटो सम्पन्न गर्नुपर्ने बताएकी थिइन् ।
मंगलबारको छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव चौलागाईँ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ, प्रधान सेनापति अशोकराज सिग्देल लगायत द्रुतमार्ग आयोजनासँग सम्बन्धित अधिकारी र सचिवहरू सहभागी थिए।
छलफलमा नेपाली सेनाले आयोजनामा हालसम्मको प्रगति, समस्या र सरकारसँग अपेक्षाबारे ब्रिफिङ दिएको थियो। प्रधानमन्त्री कार्कीले सबै निकायका अधिकारीहरूलाई विकास निर्माणमा अनावश्यक ढिलाइ नगर्न र विवादमा अल्झिन नहुने स्पष्ट निर्देशन दिएकी छन्।
सबै सम्बन्धित निकायका अधिकारीहरुलाई राखेर उनले विकास निर्माणका काममा अनावश्यक ढिलासुस्ती नगर्न र विवादमा अल्झिएर पनि नबस्न भनेकी हुन् ।
‘विकास निर्माणका काममा अनावश्यक ढिलासुस्ती गर्नुहुँदैन । सकेसम्म विवादको समाधान गर्ने हो । तर विवाद भयो भने अनिश्चितकालसम्म त्यहीँ अल्झिएर हुँदैन । विकल्प खोजेर अघि बढ्नुपर्छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘अब विस्तृत परियोजना प्रतिवेदन संशोधन गरौं । सुरु विन्दु खोकना हुँदैन भने जहाँ कुरा मिल्छ, त्यहीँबाट प्रस्थानविन्दु कायम गरौं । आयोजनाको काम जहाँसम्म सम्पन्न हुन्छ, त्यहाँसम्म भए पनि सञ्चालन गरौं ।’
ठूलो लगानीको आयोजना अनिश्चितकालसम्म लम्बिँदै गएमा आर्थिक बोझ थेग्न गाह्रो पर्न सक्ने भएकाले पनि चाँडो सञ्चालन हुने गरी निकास खोज्नुपर्ने उनको धारणा थियो ।












