काठमाडौं । देशभर विभिन्न कार्यक्रम गरी आज प्रजातन्त्र दिवस मनाइँदै छ । सरकारी र देशैभर स्वेच्छिक रूपमा विभिन्न कार्यक्रम आयोजना गरेर प्रजातन्त्र दिवस मनाउन लागिएको हो ।

दिवसका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । विसं.२००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरङ्कुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदै आइएको छ ।
राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ ।
तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सुरु भएको थियो ।
प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता लगायतले शुभकामना दिएका छन् ।











