काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै दिवसले दिगो शान्ति, सुशासन, विकास तथा समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न महत्त्वपूर्ण योगदान पुर्याओस् भनी कामना व्यक्त गरेका छन् ।

जारी सन्देशमा उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनमा योगदान गर्ने ज्ञात–अज्ञात सबै सहिदहरू तथा क्रान्तिकारीहरूप्रति उच्च सम्मान प्रकट गरेका छन् । विशेष गरी विसं २००७ को क्रान्तिले निरङ्कुश राणा शासनको अन्त्य गरी मानवअधिकार, नागरिक स्वतन्त्रता र प्रजातन्त्रको जग बसालेको ऐतिहासिक महत्वलाई स्मरण गर्दै उनले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
राष्ट्रपति पौडेलले यो दिवसले नागरिक अधिकारको महत्त्वलाई स्थायी बनाउने र सहिदहरूको अमर बलिदानलाई सदैव जीवन्त राख्ने विश्वास व्यक्त गरे । उनले भनेका छन्, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामी नेपालीले सात दशकभन्दा लामो सङ्घर्ष र बलिदानबाट प्राप्त गरेको ठूलो उपलब्धि हो । लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव, समृद्धि र बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछ। जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई यसले स्थापित गरेको छ ।’
वर्तमान संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य राखेको उल्लेख गर्दै उनले सुशासनमार्फत मुलुकको विकास र समृद्धि नै गणतन्त्रको मुख्य उद्देश्य भएको बताए । यसका लागि सबैलाई सुशासन, विकास र समृद्धिको अभियानमा सक्रिय सहभागी हुन अपिल गरेका छन् ।
यसैगरी, उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र सफल बनाउनु सबैको साझा दायित्व भएको जोड दिँदै त्यसमा सक्रिय योगदान गर्न सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई आह्वान गरेका छन् ।











