Logo
Logo

युवालाई तिरष्कार गरेर राष्ट्र शान्त रहन सक्दैन : प्रधानमन्त्री कार्की


126
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रजातन्त्रको साँचो अर्थ आम नागरिकको अनुहारमा झल्किने सुखद मुस्कान र निश्चिन्त निद्रामा देखिनुपर्ने बताएकी छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडीखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवाहरूलाई तिरस्कार गरेर कुनै राष्ट्र शान्त रहन नसक्ने जिकिर गरिन् ।

उनले भनिन्, ‘युवामा ऊर्जा, नैतिक क्रोध र परिवर्तनको आकांक्षा छ । उनीहरूले नातावाद, कृपावाद र भ्रष्टाचार सहँदैनन् । यो असन्तोषलाई दबाएर होइन, सम्बोधन गरेर मात्र राष्ट्र अगाडि बढ्न सक्छ ।’ युवालाई अपमान गर्दा राष्ट्रमा अस्थिरता निम्तिने उनको चेतावनी थियो ।प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वस्थ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले पूर्ण शक्ति लगाएको बताइन् । यो निर्वाचनले मुलुकलाई दिगो लोकतान्त्रिक स्थायित्वको नयाँ युगको ढोका उघार्ने उनको विश्वास छ ।

नेपालको निर्वाचन इतिहास स्मरण गर्दै उनले वि.सं. २०१५ साल फागुन ७ गतेदेखि सुरु भएको प्रजातान्त्रिक निर्वाचनको महत्त्व उल्लेख गरिन् । फागुन २१ मा तोकिएकै मितिमा विश्वसनीय निर्वाचन हुने सुनिश्चित भएको दाबी गरिन् । लोकतन्त्र प्रक्रिया मात्र नभई नतिजामुखी हुनुपर्नेमा जोड दिँदै उनले विधिको शासन, सुशासन, पारदर्शिता र जबाफदेहितालाई व्यवहारमा उतार्ने प्रयास सरकारको रहेको बताइन् ।

जेनजी आन्दोलनको आवाजलाई गम्भीरतापूर्वक लिएर असामान्य अवस्थालाई सामान्य बनाउँदै शान्ति सुव्यवस्था कायम गर्ने र निर्वाचनको वातावरण तयार पार्ने यो सरकारको मुख्य जिम्मेवारी रहेको उल्लेख गरिन् ।आगामी संसद् र सरकारले लोकतन्त्रलाई जीवन्त, नतिजामुखी र जनउत्तरदायी बनाउने उनको अपेक्षा छ । संस्कारयुक्त राजनीति, जबाफदेही शासन र सामाजिक न्यायसहितको समृद्धिका लागि सबैलाई एकजुट हुन प्रधानमन्त्री कार्कीले अपिल गरिन् ।

प्रतिक्रिया दिनुहोस्