काठमाडौं । गगन कुमार थापाले पाँच वर्षभित्र भ्रष्टाचारमुक्त नेपाल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाली कांग्रेसको ‘हाम्रो प्रतिज्ञा, तपाईंको प्रश्न’ कार्यक्रमलाई राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै उनले भ्रष्टाचारविरुद्ध कठोर अडान दोहोर्याए ।

थापाले भ्रष्टाचारमा मुछिएका व्यक्तिको “नाता र नेता” नहेर्ने स्पष्ट पार्दै भने, “सभापति होस् वा कुनै पदमा रहेको व्यक्ति भ्रष्टाचार गरेको प्रमाणित भए सार्वजनिक पदमा बस्ने अधिकार रहँदैन ।”
उनले २०४७ सालयताका जुनसुकै दलका नेतामाथि पनि निष्पक्ष छानबिन हुनुपर्ने धारणा राखे ।
सार्वजनिक सेवा सुधारलाई प्राथमिकता दिँदै थापाले कार्यालय–केन्द्रित होइन, नागरिककेन्द्रित सेवा प्रणाली आवश्यक रहेको बताए । सेवा समयमै उपलब्ध गराउनुपर्नेमा जोड दिँदै उनले क्षतिपूर्ति व्यवस्थाको अवधारणा अघि सारे ।
“एक दिनमा हुने भनिएको सेवा एकै दिनमा, एक घण्टामा हुने भनिएको सेवा एकै घण्टामा हुनुपर्छ,” उनले भने, “ढिला सुस्ती भए नागरिकले क्षतिपूर्ति पाउनुपर्छ ।”
थापाका अनुसार कांग्रेसले डिजिटल सार्वजनिक सेवा सातै दिन, २४ सै घण्टा उपलब्ध गराउने, आवश्यक कानुनी संशोधन गर्ने र प्रविधिमैत्री पूर्वाधार विकास गर्ने योजना बनाएको छ ।
उनले सेवा प्रवाहलाई सरल, छिटो र पारदर्शी बनाउने लक्ष्यसहित सुधारका कार्यक्रम अघि बढाइने बताए ।











