Logo
Logo

धनुषा ३ : विमलेन्द्र र जुलीलाई मनिषको चुनौती


756
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै धनुषा क्षेत्र नम्बर ३ मा चुनावी माहौल तातेको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाम समेत समेटिएको यो क्षेत्रलाई नेपाली कांग्रेसको पुरानो विरासत मानिन्छ, जहाँ महेन्द्र नारायण निधिदेखि विमलेन्द्र निधिसम्मको प्रभाव रहेको छ । यद्यपि, पछिल्ला दुई निर्वाचनलाई हेर्दा कांग्रेसको यो विरासत धर्मराएको देखिन्छ ।

२०७९ मा नेकपा (एमाले)की जुली कुमारी महतो ३३, ३८८ मत ल्याएर निर्वाचित भएकी थिइन् । उनले लोसपाका अनिल झालाई पराजित गरेकी थिइन् । कांग्रेसले त्यसबेला यो क्षेत्र सत्ता गठबन्धनका लागि छाडेको थियो ।

त्यसअघि २०७४ को निर्वाचनमा भने तत्कालीन राजपाका राजेन्द्र महतो ३०,७५० मतका साथ विजयी भएका थिए । उनले कांग्रेसका हेभिवेट नेता विमलेन्द्र निधिलाई पराजित गरेका थिए । यसपटक धनुषा ३ मा त्रिपक्षीय मात्र नभई बहुपक्षीय र नयाँ शक्तिको उदयका कारण प्रतिस्पर्धा निकै जटिल बनेको छ ।

कांग्रेसबाट विमलेन्द्र निधि विगतको हारको बदला लिने र आफ्नो पुरानो किल्ला फर्काउने दाउसहित चुनावी मैदानमा छन्।
जुली संगठन र आफ्नो अघिल्लो कार्यकालको कामको आधारमा पुनः जित्ने दाउमा छिन् । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा यी दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुँदा निधिले १ हजार ४९२ मतअन्तरले चुनाव जितेका थिए । निधि १५ हजार ३१ मत पाउँदा जुली १३ हजार ५३९ मत पाएकी थिइन् ।

निधिको गृहनगर पर्ने यस क्षेत्रमा २०५६ यता २०७९ बाहेक सबै चुनावमा उनी प्रत्यक्ष उम्मेदवार बने । तर २०६४ पहिलो र २०७० को दोस्रो संविधानसभा चुनावमात्रै जित्न सफल भए । तर २०७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता राजेन्द्र महतोसँग २ हजार ९०३ मतान्तरले पराजित भए । महतो ३० हजार ७५० मत प्राप्त गरेका थिए भने निधि २७ हजार ८४७ मतमा सिमित भएका थिए । पराजितको भयले २०७९ को निर्वाचनमा उनले समानुपातिक निर्वाचन प्रणालीमा आफ्नो सांसद पद सुरक्षित पारे ।

मुखियापट्टी मुसहरनिया गाउँपालिका, नगराईन नगरपालिका, धनौज गाउँपालिका, विदेह नगरपालिकाको वडा नम्बर ९ र जनकपुर उपमहानगरपालिकाका १–८, १०, १२, १५, १६, २० र २३, २४ र २५ वडाहरू रहेको धनुषा–३ मा १ लाख २५ हजार ९२७ मतदाता छन् ।

२०७९ को निर्वाचनमा कांग्रेसले समानुपातिकतर्फ सबभन्दा धेरै मत पाएको थियो । कांग्रेसले २५ हजार १९५ मत प्राप्त गर्दा एमालेले १७ हजार ८७४, जनमत पार्टीले ८ हजार ८२, राष्ट्रिय स्वतन्त्र पार्टीले १ हजार २१९ समानुपातिकतर्फ १ हजार २११ मत पाएका थिए ।

यो चुनावी गणितले पार्टीगत रूपमा कांग्रेसलाई र व्यक्तिगत रूपमा एमालेकी जुली महतोलाई बलियो देखाएको यो क्षेत्रमा यसपटक राजनीतिक समीकरण बदलिएको छ । जुली र निधीसँगै यही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मनिष झा, जसपा नेपालबाट परमेश्वर साह, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट राजिवकुमार झा, श्रम संस्कृति पार्टीबाट सदाम हुसेन लगायत उम्मेदवार छन् ।

रास्वपाका प्रवक्ता समेत रहेका झाको उम्मेदवारी र जनकपुरधाममै भएको रास्वपाको परिवर्तनको पहिलो उद्घोष सभामा वरिष्ठ नेता बालेन शाहको सम्बोधनले पूराना र नयाँ अनुहारबीचको प्रतिस्पर्धा रोचक हुने देखिन्छ । झाले ‘नयाँ विकल्प’ र ‘परिवर्तन’को नारासहित युवा मतदातालाई आकर्षित गरिरहेका छन् ।

२०७९ को निर्वाचनमा झा समानुपातिक सांसद बनेका थिए । विगतमा स्थानीय र प्रदेश सभा निर्वाचनमा सहभागी नभएको रास्वपाको ग्रासरुटमा संगठनिक संरचना छैन तर बालेन शाहको मधेस भ्रमणले रास्वपाप्रति एक किसिमको लहर नै देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्