
काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका बाराको मालपोत कार्यालयका तत्कालीन नायब सुब्बा (नासु) मदनकुमार गुप्ताविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ ।
सात वटा भ्रष्टाचार मुद्दामध्ये ६ वटामा दोषी ठहर भएका गुप्ताविरुद्धको मुद्दामा सुनुवाइका लागि
सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको हो ।
२०७६ साल जेठमा भ्रष्टाचार मुद्दा दर्ता हुँदा गुप्ता सरकारी सेवामा लागेको २९ वर्ष पुगिसकेको थियो । तीन दशकको अवधिमा उनले करिब २८ लाख रुपैयाँ तलब–भत्ता बुझ्दा १९ करोड रुपैयाँभन्दा बढी सम्पत्ति आर्जन गरेको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध सात वटा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियारले दायर गरेका सात मुद्दामध्ये छ वटामा गुप्ता दोषी ठहर भए भने एक मुद्दामा उनले सफाइ पाएका थिए । अभियोगपत्रअनुसार उनले विभिन्न मालपोत कार्यालयमा कार्यरत रहँदा सरकारी राजस्व हिनामिना गरेका थिए । मालपोत र बैंकका नक्कली रसिद प्याड प्रयोग गरी राजस्व हिनामिना गरेको पुष्टि भएपछि मुद्दा दर्ता गरिएको थियो ।
उनीविरुद्ध पाँच वटा राजस्व हिनामिना, एउटा सरकारी कागजात नष्ट गरेको तथा गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अभियोग लगाइएको थियो । थप अनुसन्धानका क्रममा राजस्व चुहावटका दुई घटना फेला परेपछि छैटौँ र सातौँ मुद्दासमेत दायर गरिएको थियो ।
विशेष अदालतका तत्कालीन अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले विभिन्न मुद्दामा उनलाई कैद तथा जरिवाना सजाय सुनाएको थियो । हाल गुप्ता कारागारमा छन् ।











