काठमाडौं । नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा उम्मेदवार शेखर कोइरालाले सुकुम्बासीहरूको दीर्घकालीन व्यवस्थापन र विराटनगरको भौतिक पूर्वाधार विकासलाई आफ्नो मुख्य एजेन्डा रहेको बताएका छन् । विराटनगर वडा नं. ६ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कोइरालाले सुकुम्बासी बस्तीका समस्या समाधानका लागि आफूले ठोस पहल गर्ने र यसलाई प्राथमिकतामा राख्ने बताएका हुन् ।

उनले सुकुम्बासी आयोगका सदस्यहरूसँग प्रारम्भिक छलफल भइसकेको जानकारी दिँदै छिट्टै आयोगका प्रतिनिधिहरू बस्तीमै आएर स्थानीयका पिरमर्का सुन्ने वातावरण मिलाउने जानकारी समेत गराए । कोइरालाले सुकुम्बासीहरूलाई कानुनी हैसियतसहित बसोबासको सुनिश्चितता दिन आवश्यक प्रक्रिया अघि बढाउने दाबी गरे ।
उनले भने, ‘म तपाईँहरूको पीडा र समस्या नजिकबाट बुझेको छु, अब आयोगका सदस्यहरू यहाँ आएर तपाईँहरूको समस्या सुन्नुहुन्छ र व्यवस्थापनको कामले गति लिन्छ ।’उनले अर्को महत्त्वपूर्ण योजनाका रूपमा विराटनगर चक्रपथ ९रिङरोड० निर्माणलाई अघि सारेका छन् । चक्रपथ निर्माण नहुँदा सहरको विकासले सोचेजस्तो गति लिन नसकेको उनको ठहर छ । यदि समयमै चक्रपथ बनेको भए वडा नं.४ र ६ को स्वरूप नै परिवर्तन भई व्यापार र पूर्वाधारमा ठूलो क्रान्ति आउने कोइरालाको भनाइ थियो ।
वडा नं. ६ भित्रका अलपत्र सडकका विषयमा बोल्दै कोइरालाले ठेक्का लागेर पनि ठेकेदार फरार भएका कारण काम रोकिएको खुलासा गरे । उनले निर्वाचन लगत्तै उक्त सडक निर्माणलाई पुनः अघि बढाउन पहल गर्ने र अब उप्रान्त विकास निर्माणमा यस्तो ढिलासुस्ती हुन नदिने प्रतिबद्धता जनाए ।
यसका साथै स्थानीयलाई सहज स्वास्थ्य सेवा पुर्याउन सुकुम्बासी बस्ती नजिकै अस्पताल स्थापना गर्ने तयारी भइरहेको उनले जानकारी दिए । दुई वर्षअघि नै जग्गा छुट्टाइएको उक्त अस्पताल निर्माण कार्यलाई अब कार्यान्वयनको चरणमा लैजाने उनको योजना छ ।











