काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संसद् भवन निर्माणको गति बढाउन निर्देशन दिएका छन् । भवन निर्माणको पछिल्लो अवस्थाबारे जानकारी दिँदै उनले आगामी अधिवेशन नयाँ भवनमै सञ्चालन गर्ने गरी काम सक्न निर्देशन दिएका हुन् ।

दाहालले भवन निर्माणको स्तर र गति अपेक्षाअनुसार नभएको उल्लेख गर्दै निर्माणको तीव्रता नदेखिएको बताएका छन् । यद्यपि, पछिल्लो समय केही प्रगति भएको उनको भनाइ छ । सदन चलाउने बेलासम्म यसलाई बनाउनुपर्छ भन्ने स्पिडका साथ धेरै पटक निर्देशन दिइसकेको बताए । उनले केही दिन अघि मात्रै सहरी विकास मन्त्रालयका सचिव र सम्बन्धित पक्षलाई आफ्नै कार्यकक्षमा बोलाएर निर्देशन दिएको जानकारी दिए । अध्यक्ष दाहालकाअनुसार सम्पूर्ण भवन परिसरका सबै काम तत्कालै नसकिए पनि कम्तीमा प्रतिनिधि सभा र राष्ट्रिय सभा सञ्चालन हुने हलहरू तयार हुनुपर्नेछ । निर्वाचन पछिको सदन नयाँ भवनमै चलाउने लक्ष्यका साथ सरकार र निर्माण पक्षलाई दबाब दिइएको उनको भनाइ छ ।
उनले भने, ‘अब पहिलो कुरा त बनेको त हामी सबैले हेरिहाल्यौँ कति बन्यो भन्ने कुरा । हामीलाई जुन स्पिडबाट जुन स्तरबाट यो बन्नुपथ्र्यो भन्ने लागिराख्या छ त्यो स्तरबाट अझै स्पिड आइसकेको छैन । किनभने अब करिवकरिव सदन चल्ने कुरा त निधो नै भइसक्यो । अब दुई-चार दिन तलमाथि होला नत्र भने अब सदन चल्ने स्थितिलाई इलेक्शन भएपछिको स्थिति । अब त्यो सदन चलाउने बेलासम्म यसलाई बनाउनुपर्छ भन्ने स्पिडका साथ हामीले पहिले देख्न धेरै पटक निर्देशन दिइयो । अब अहिले लास्ट पटक आएर दिएको निर्देशनअनुसार अलिकति काममा प्रगति भएको त पाइएकै छ ।’
नयाँ संसद् भवन निर्माणमा भइरहेको ढिलाइप्रति चासो व्यक्त गर्दै अध्यक्ष दाहालले फिनिसिङ र अन्य प्राविधिक पक्षहरूमा पनि ध्यान दिन आग्रह गरेका हुन् । आगामी अधिवेशनसम्म मुख्य हलहरू हस्तान्तरण हुनेमा उनले आशा व्यक्त गरेका छन् ।











