
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. कुमार इङनामले निर्माणाधीन नयाँ संघीय संसद भवनको काम चैत १ गतेभित्र सम्पन्न गरी हस्तान्तरण गर्न निर्देशन दिएका छन् ।
भवन निर्माणको पछिल्लो अवस्थाबारे स्थलगत अनुगमन गरेपछि मन्त्री इङनामले निर्धारित समयमै काम सक्न निर्माण पक्षलाई निर्देशन दिएका हुन् । अनुगमनका क्रममा मन्त्री इङनामले कामको गतिप्रति केही असन्तुष्टि व्यक्त गर्दै चैत १ गतेभित्र प्रतिनिधि सभा, राष्ट्रिय सभा, सेन्ट्रल लबी र सचिवालयका भवनहरू जसरी पनि हस्तान्तरण गर्नुपर्ने बताए ।
भवनको सिभिलतर्फको काम मोटामोटी सकिए पनि फिनिसिङको काममा ढिलाइ भएको पाइएपछि मन्त्रीले दक्ष जनशक्ति थप्न निर्देशन दिएका छन् । मन्त्रीको निर्देशनपछि निर्माण कम्पनीले बारा र रौतहटबाट थप कामदार मगाएर कामलाई तिब्रता दिएको जानकारी गराइएको छ ।
निर्माणका क्रममा केही प्राविधिक चुनौतीहरू पनि देखिएका मन्त्री इङनामको भनाइ छ । चीनबाट ल्याउनुपर्ने केही सामानहरू क्रिसमस र अन्य बिदाका कारण ढिलो भएको ठेकेदारको भनाइ छ । ती सामानहरू फागुन २५ गतेसम्म आइपुग्ने र जडान गरिने आश्वासन निर्माण पक्षले दिएको छ ।
भारतबाट ल्याउनुपर्ने ३० मिटर लामो इलेक्ट्रोनिक प्यानल र ४ मेगावाटको विद्युतीय प्रणाली जडानको काम पनि बाँकी रहेको छ । वीरगञ्ज भन्सारमा रोकिएका सामानहरू आउने क्रम शुरु भइसकेकाले चैतको शुरुवातमै भवन पूर्ण रूपमा तयार हुने मन्त्रीले विश्वास व्यक्त गरे ।











