काठमाडौं । धरहरा भित्र रहेको सवारी पार्किङको सञ्चालन र व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने भएको छ । नेपाल सरकार र महानगरबीच शुक्रबार भएको छलफलमा पार्किङ व्यवस्थापनको जिम्मा महानगरलाई दिने सहमति भएको हो ।

सहमति अनुसार पार्किङ सञ्चालन, व्यवस्थापन र सुरक्षा अब महानगर प्रहरी बलले सम्हाल्नेछ । धरहरा क्षेत्रको समग्र सञ्चालनका लागि तत्काल र दीर्घकालीन योजना तयार गर्न सहरी विकास मन्त्रालय र महानगरका पदाधिकारी सम्मिलित संयुक्त समिति गठन गर्ने निर्णय पनि भएको छ ।
महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल ले धरहराको बाहिरी संरचनासम्बन्धी काम महानगरले गर्ने र समग्र व्यवस्थापन हस्तान्तरण गर्न संघीय सरकारसँग आग्रह गरिएको जानकारी दिइन् ।
सहरी विकास मन्त्री कुमार इङ्नाम ले बाहिरी संरचनाको आर्थिक दायित्व महानगरले लिने तथा पार्किङ र सुरक्षा व्यवस्थापन तत्काल अघि बढाइने बताए । छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल लगायत सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी थिए ।











